कैलालीमा ८० प्रतिशतले सेवन गरे हात्तीपाइलेको औषधि

धनगढी – कैलालीमा अभियान सुरु भएको १५ औँ दिनसम्म ८० प्रतिशतले हात्तिपाइलेको आौषधि सेवन गरेका छन्। १०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान असफल भएको कैलालीमा ११औँ पटकको अभियान अहिले पनि जारी रहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार अभियान सञ्चालन भएको १५ औँ दिन अर्थात बिहीबारसम्म ८०.०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन्। उनका अनुसार कुल जनसंख्याको ७ लाख ४२ हजार २ सय ७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरिसकेका छन्।

कैलाली जिल्लामा ९ लाख २६ हजार ८९० जनसङ्ख्या रहेकोमा हालसम्म ८०.०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेका छन्।

१० औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा फागुन ११ गते देखि ११ औँ पटकको अभियान जारी छ।

यसअघि फागुन २५ गतेसम्म मात्र अभियान सञ्चालन गरिने कार्यक्रम रहे पनि केन्द्रकै निर्णयअनुसार पाँच दिन थप भएर फागुन ३० गतेसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालय निमित्त प्रमुख धामीले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १८ हजार ७८४, चुरे गाउँपालिकामा १७ हजार ६४५, गोदावरी नगरपालिकामा ८३ हजार ७३५, गौरीगंगा नगरपालिकामा ५३ हजार २०३ जनाले औषधि खाएका छन्।

यसैगरी, घोडाघोडी नगरपालिकामा ६५ हजार ७८२, बर्दगोरिया गाउँपालिकामा ३३ हजार १९७, लम्कीचुहा नगरपालिकामा ७३ हजार ३८१, जानकी गाउँपालिकामा ३७ हजार २३७ जनाले औषधि खाइसकेको स्वास्थ्य कार्यालले जनाएको छ।

यस्तै, स्वास्थ्य कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा ३० हजार ४५०, टीकापुर नगरपालिकामा ८० हजार २३६, भजनी नगरपालिकामा ४४ हजार २४७, कैलारी गाउँपालिकामा ४१ हजार ४ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन्।

दुई लाखभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगर पालिकामा १ लाख ६३ हजार ३०६ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेका छन्।

यसअघिका अभियानमा घरका मान्छेको संख्या गनेर पोका पारेर घरमै दिने परिपाटी रहेकाले अभियान सफल हुन नसकेको स्वास्थ्य कार्यालय प्रमुख धामी बताउँछन्। उनले भने, ‘घरमा पोका बनाएर पठाउँदा धेरैले नखाइ फाल्ने गरेकाले अभियान सफल भएन। यसपटक स्वास्थ्यकर्मीकै निगरानीमा खुवाउने गरिएको छ।’

फाल्गुन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्