विराटनगर महानगरमा ७३ प्रतिशतले सेवन गरे हात्तीपाइलेको औषधि

मोरङ – विराटनगर महानगरपालिकाले हात्तीपाइले रोगविरुद्धको औषधि करिब ७३ प्रतिशतले सेवन गरेको जनाएको छ।

फागुन ३० गतेसम्म औषधि खुवाउने कार्यक्रम राखिएको बताएका महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गएको १५ दिनमा ७२ दशमलव ८८ प्रतिशतलाई औषधि खुवाइएको जानकारी दिए।

महानगरका सबै वडामा हालसम्म १ लाख ७९ हजार ५ सय ७० जनाले औषधि सेवन गरिसकेको उनले जानकारी दिए। महानगरभित्र २ लाख ४८ हजार ७ सय १६ जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ।

महानगरको १९ वटा वडामा औषधि खुवाउने कार्यक्रमअन्तर्गत वडा नम्बर ९ मा शतप्रतिशतभन्दा बढीले औषधी सेवन गरेको प्रमुख अलीले बताए।

त्यसैगरि, वडा नम्बर ८, १०, १५, १६, १७ मा पनि औषधि सेवन गर्नेको अवस्था राम्रो रहेको उनले जानकारी दिए। त्यसैगरि, महानगरभित्र वडा नम्बर ६ मा औषधि खुवाउने कार्य प्रभावकारी रुपमा हुन नसकेको महानगरले जनाएको छ। सो वडामा २० हजारलाई औषधि खुवाउनुपर्ने भए पनि हालसम्म १५ प्रतिशत जनतामा औषधिको पहुँच पुगेको छ।

औषधि खुवाउने कार्यक्रममा वडाभित्र रहेका निजी विद्यालयले अपेक्षा गरेअनुसार सहयोग नगरेको जनाएको छ। त्यसैगरि, स्वास्थ्यकर्मीको कमिका कारण काम गर्न कठिनाइ भएको महानगरले जनाएको छ। हाल औषधि खुवाउने कार्यक्रममा महानगरले १ सय २५ जना स्वास्थ्यकर्मी परिचानल गर्दै आएको छ।

फाल्गुन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्