नेपालगञ्जमा हात्तीपाइलेविरुद्धको औषधि अभियान चैत १५ सम्म सञ्चालन हुने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ।

औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। फागुन ११ गतेदेखि अभियान सुरु गरिएको हो।

आज नेपालगञ्जमा आयोजना गरिएको औषधि सेवन कार्यक्रमको प्रारम्भिक समीक्षा बैठकमा सरोकारवालाहरुको सुझावको आधारमा थप १५ दिन समयावधि बढाउने निर्णय गरिएको चन्दले जानकारी दिए।

सम्बन्धित वडाका जनप्रतिनिधिको अग्रसरता रहने गरी अघि बढ्ने योजनाका साथ रणनैतिक ढंगले अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष बैठकले निकालेको छ। औषधि सेवन कार्यक्रमलाई सहयोग पुग्ने गरी गतिविधि हुनुको साटो जानेबुझेकाहरुबाटै अफवाह फैलाउने काम भएको भन्दै त्यसलाई चिरफार गरेर अघि बढ्नुपर्ने सुझाव दिइएको छ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको बैठकको अध्यक्षता गरेका जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लाका अन्य पालिकाको तुलनामा नेपालगञ्जमा निकै कम कभरेज भएकाले आमऔषधि सेवन कार्यक्रमलाई सफल बनाउन आआफ्नो वडामा जनप्रतिनिधि जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड दिए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले औषधि सेवन गरेकाहरुको कार्ड नै बनाएर भरपर्दो तथ्यांक अद्यावधिक गर्न स्वास्थ्य महाशाखालाई निर्देशन दिँदै नेपालगञ्जमा हालसम्म प्राप्त तथ्यांक आँखाअगाडि नै औषधि खाएकाहरुको आधिकारिक विवरण भएको बताए।

उनले अब केही समय लम्ब्याएर भए पनि कभरेज बढाउने रणनीतिका साथ अघि बढ्नुको विकल्प नरहेको भन्दै सबै जनप्रतिनिधि र सरोकारवाला निकाय र स्वयं नागरिकहरु यसमा गम्भीर बन्नुपर्ने बताए।

बैठकमा हात्तीपाइले रोग फोकलपर्सन दुर्गा गौतमले नेपालगञ्जका केही वडाहरुको कभरेज कहालीलाग्दो रहेको भन्दै सबै गम्भीर बन्नुपर्ने बताइन् । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशतभन्दा कम कभरेज छ। यस्तै २, ४, ६, १२, १९, २०, २१ र २२ मा ५० प्रतिशत कम कभरेज रहेको देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका ४८ प्रतिशत कभरेज छ।

फाल्गुन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्