[अन्तर्वार्ता] विद्रोही चेत र सुश्रीबीच त म केही नाता साइनो देख्दिनँ: गोविन्द गिरी ‘प्रेरणा’

नेपाली वाङ्मयकी अत्यन्त चर्चित सबल जुझारु र विद्रोही लेखिका पारिजातको जीवनीमूलक कृति ‘सुश्री पारिजात’ प्रकाशन भएसँगै कवि/लेखक गोविन्द गिरी ‘प्रेरणा’ चर्चामा छन्।

पारिजातको बाल्यकाल, काठमाडौँ आएपछिका सिर्जना, सङ्गत, सङ्घर्ष, बानीव्यवहार, राल्फाको अभियान, प्रगतिवादी लेखन, राजनीतिक आबद्धतालगायतका विषयमाथि प्रकाश पारिएको सुश्री पारिजात प्रकाशनपछि नाममा नै प्रश्न गरियो- विद्रोही लेखिकालाई सुश्री किन भनियो?

१६ वर्ष समय लगाएर लेखिएको ‘सुश्री पारिजात’ पारिजातलाई गहिरोसँग बुझ्न सकिने कृतिका रूपमा लिए पनि पारिजातको जीवनीको केही तथ्यहरू नै तोडमोड गरेको आरोप पनि गिरीले खेप्दै आएका छन्।

नेपाली साहित्य कर्ममा निरन्तरता दिँदै आएका लेखक गिरीसँग ‘सुश्री पारिजात’ पुस्तक वरिपरि बसेर देश सञ्चारकर्मी राज सरगमले गरेकाे कुराकानीकाे सम्पादित अंश:

सुश्री पारिजात कस्तो किताब हो?

‘सुश्री पारिजात’ नेपाली वाङ्मयकी अत्यन्त चर्चित, सबल, जुझारु र विद्रोही लेखिका पारिजात अर्थात् विष्णुकुमारी वाइवा अर्थात् छेकुडोल्माको जीवनी हो। प्रकाशकले पुस्तकको कभरमा पनि जीवनी भनेर विधा तोकेरै प्रकाशित गरेका छन्।

पारिजात लेखक साहित्यकारका साथै संवेदनशील नारी पनि थिइन् भन्ने गरिन्छ तर तपाईंले सुश्री पारिजात राखेर विद्रोही नारी होइनन् भन्न खोज्नु भएको हो ?

पारिजात छोरीमान्छे थिइन् अर्थात् नारी थिइन्। नारी हुनुको नातामा उनमा स्वाभाविक नारीजन्य संवेदनशीलताका साथै विद्रोही नारी पनि थिइन्। आम नारीझैं भए पनि राल्फा सन्ततिमा सहभागी भएपछि उनमा परिवर्तन आएको थियो। त्यसलाई फड्को हानेर प्रगतिवादमा प्रवेश गरेपछि विद्रोही बनिन्। कम्युनिष्ट पार्टी चौथो सम्मेलन अर्थात् चौमको विधिवत् टिकट काटेर राजनीतिक कार्यकर्ता बनिन्। पछि राजनीतिक पार्टीप्रति उनको आस्था रहेन तर प्रगतिवादलाई त्यागिनन्। प्रगतिवाद नत्याग्दा पनि लेखनमा स्वतन्त्रता र स्वभावशीलको पक्षधर थिइन्, उनी। त्यसैले प्रगतिवादहरूको प्रकाशन संस्थाबाट उनको पछिल्लो उपन्यास ‘परिभाषित आँखाहरू’ अस्वीकृत भएको थियो।

विद्रोही चेत भएको लेखकको जीवनीको नाम सुश्री पारिजात राख्नु हुन्थेन भनेर केही पाठक तथा समीक्षकले असन्तुष्टि पनि जनाए भनेको सुन्छु तर पारिजातको बारेमा के बुझ्नु पर्‍याे भने उनी आजीवन अविवाहित रहिन्। अविवाहितलाई सुश्री भन्ने नै गरिन्छ। पारिजात आफैंले पनि सुरु-सुरुमा आफ्ना कतिपय रचनामा सुश्री पारिजात वाइवा, सुश्री पारिजात लेख्ने गर्थिन्। प्रगतिवादी लेखक समालोचकहरूले पनि सुश्री पारिजात भनेर लेख्ने र भाषण गर्ने गर्थे। दृष्टान्तको लागि प्रगतिवादी लेखक समालोचक शक्ति लम्सालले आफ्ना पुस्तकमा सुश्री पारिजात लेखेका छन् । मैले पहिलोपल्ट लेखेको होइन। विद्रोही चेत र सुश्री बीच त म केही नाता साइनो देख्दिनँ।

सुश्री पारिजात लेखिसकेपछि तपाईंलाई एउटा आरोप छ कि केही घटनामाथि गहिरो अध्ययन पुगेन। यसमा कति सहमत हुनुहुन्छ?

हेर्नूहाेस्, यो अध्ययन अनुसन्धान भन्ने कुरा अन्तहीन सिलसिला रहेछ। हुनसक्छ कुनै कुरा छुटेको होस्। म छुटेकै छैन, पूर्ण छ भनेर दावी गर्न सक्दिनँ। यस्तो दावी गर्न कसैले पनि सक्दैन। तर एउटा के कुरामा म ढुक्क छु भने यति विस्तृत रूपमा पारिजातको जीवनी यसअघि कसैले लेखेर प्रकाशन गरेको मैले देखेको छैन। यद्यपि यसअघि नै जीवनी र जीवनीमूलक ४/५ कृतिहरू बजारमा नदेखिएका होइनन्।

तपाईंले देखेको पारिजात र लेखेको पारिजातमध्ये कुन सुन्दर?

मलाई के लाग्छ भने मानिसहरू कुनै लेखक-लेखिकालाई एउटा बेग्लै वस्तुको रूपमा प्रस्तुत गर्दछन्। भनौँ न प्रशंसकहरूले देवत्वकरण र आलोचकहरूले दानवीकरण गर्ने गर्छन्। यो दुवै अतिवाद हो। पारिजात पहिला त लेखिका थिइन्, र मानवरूपी स्त्री थिइन्। अतः उनमा पनि मानिसमा हुने गुण दोष सबै थिए। जहाँसम्म लेखनको कुरा छ, उनी सुन्दर लेखिका हुन्। उनको लेखन सुन्दर र ओजिलो थियो। त्यसैले त उनको सुन्दर उपन्यास ‘शिरीषको फूल’ ले मदन पुरस्कार पायो। विश्वको विभिन्न भाषामा अनुवाद भए र विश्वविद्यालयका पाठ्यक्रममा समेटिए। उनलाई धेरै लेखकस्व दिने कीर्तिमानी कृति बन्यो। मैले देखेको पारिजात सुन्दर थिइन्, लेखेको पारिजात झनै सुन्दर।

सुश्री पारिजात लेखनमा तपाईंले छुटाएको पाटो अझै बाँकी छन्, जसलाई अहिले सम्झिएर लेखूँ-लेखू लाग्छ?

लेखनका क्रममा कतिपय कुरा छुटेको हुन सक्छ। छुटेको छैन भनेर दावी गर्दिनँ र गर्नु पनि हुन्न। तर पारिजातको जीवनी लेखन र लेखकीय जीवनको मूल कुराहरू भने छुटेका छैनन्। मैले लामो समय लगाएको कारण पनि सकेसम्म मूल कुराहरू नछुटून् भनेर नै हो। त्यसैले उनको जीवनको र लेखकीय जीवनको प्रमुख कुराहरू छुटेका छैनन् र अहिले सम्झिएर लेखूँ-लेखूँ लाग्ने कुरा पनि छैनन्।

खासमा तपाईं आफूलाई साहित्यकार हुँ भनेर मान्नुहुन्न र पनि पारिजातलाई मन पराउनेले, आलोचना गर्नेले, पारिजातलाई उपेक्षा गरेकाले र पारिजातलाई प्रेम गर्नेले व्यक्त गरेका पारिजातप्रतिको धारणा, दृष्टिकोण र अनुभूतिलाई सङ्ग्रह गर्न कस्ता चुनौती आइपरे?

हो, म साहित्यको विद्यार्थी होइन। म त वाणिज्य शास्त्र पढेको मान्छे। मेरो शिक्षक, गुरु, विश्वविद्यालय जे भने पनि स्वध्ययन हो। मैले संसारका विभिन्न नामी लेखक साहित्यकारको जीवनी हेरेँ, पढेँ। जीवनी लेख्नका लागि पूर्व प्रकाशित सामग्री सङ्कलन गर्नुपर्ने रहेछ। तर कसरी कुन सामग्री पाउने? त्यो जान्नु पर्दो रहेछ। सन्दर्भ सामाग्री खोज्नका लागि अध्ययनले सघाउँदो रहेछ। सामग्री सङ्कलन, सम्बन्धित व्यक्तिहरूसँग अन्तर्वार्ता प्रमुख स्राेत हुने रहेछ। सामग्री सङ्कलनका लागि मेरो आफ्नो पुस्तकालय नै ठूलो स्राेत बन्यो। त्यसबाहेक विभिन्न पुस्तकालय, विभिन्न व्यक्तिका निजी सङ्कलन पनि मेरा आधार बने र धेरैले सहयोग गर्नुभयो। अन्तर्वार्ता टेपमा लिएँ, इमेलबाट लिएँ, फेसबुकबाट पनि लिएँ। नेपालमा मात्र होइन, अमेरिकामा पनि दिनभरिको बाटो गाडीमा गएर समेत अन्तर्वार्ता लिएको रोचक क्षणहरू छन्। यसका लागि प्रशस्त समय श्रम र पैसा त लाग्यो नै। यही चुनौती पार गरेकाले नै यो किताब तयार हुनसक्यो।

किताबमा पारिजातका सफलताका कथा मात्रै छैनन्, उनका अनेकौँ दुर्बलता देखाउने कोसिस पनि छ ? ती प्रमाणहरू जुटाउन कति सकस रह्यो?

प्रमाण जुटाउन भन्दा पनि त्यस किसिमको प्रमाणको सूत्र पत्ता लगाउनु, सूचना पाउनु महत्त्वपूर्ण कुरा थियो। ती सूत्र र सूचना पहिल्याउँदै मैले सामग्री सङ्कलन गरेँ। म कहीं कतै पारिजातको प्रसङ्ग आएको केही थाहा पाउनेवित्तिकै त्यसबारे थप सोध खोज गर्न थालिहाल्थेँ, सूचना राखिहाल्थेँ। म एक प्रकारले पूर्ण रूपले पारिजातमय भएको थिएँ। त्यो सकसभन्दा पनि सुखद् कर्म थियो भन्न रुचाउँछु म।

सन्दर्भ सामग्रीका लागि १६ वर्ष लाग्नुको कारण सहजै नभेटिएर हो?

साहित्य पेशा नभएकोले पूर्णकाल यसमा लगाउन सकिने कुरा थिएन। म नेपालमा छँदै सन् २००२ तिरै पारिजातको जीवनी लेख्न सामग्री सङ्कलनमा लागिसकेको थिएँ। तर सन् २००४ मा अमेरिका गएपछि केही समय यो काम अवरुद्ध भएको हो। तर अमेरिकाबाट गर्न सकिने अध्ययन अनुसन्धान गरिरहेकै थिएँ। सूचना सामग्री तयार गर्थेँ र नेपाल आएको बेला थप सामग्री संकलन गर्थेँ। आफूलाई चाहिने सामग्रीको स्राेतका लागि लगाउनु पर्ने समय र प्रयास पनि आफ्नो ठाउँमा छँदै थियो। सामग्री सहज ढङ्गले पाउन पनि सकिँदैनथ्यो, त्योभन्दा पनि त्यसको सूचना पाउनु महत्त्वपूर्ण थियो। त्यसले लामो समय लागेको हो।

तथ्यहरूको सङ्कलन भए पनि अनुभूति र कल्पनाविहीन जीवनी लेखिन सक्दैन भन्छन् हो?

तथ्य त जीवनीको मूल आधार नै भयो। तर त्यसलाई आफ्नो लेखन कौशलले सुपाठ्य रूपमा सिलसिलेवर मिलाएर आकर्षक ढङ्गले प्रस्तुत गर्नु जीवनी लेखकको खूबी हो। मेरो लेखकीय क्षमताको उपयोग यसमा मनग्य उपयोग गरेको छु। तथ्यलाई प्रामाणिक रूपमा प्रस्तुत गर्दै आफ्नो कल्पनाशीलता मजाले प्रयोग गरेको छु। कस्तो भयो भन्ने काम त गम्भीर पाठक र अध्येताहरूको हो। उपन्यास पढेझैँ लाग्यो, रोचक शैली छ इत्यादि भनेर मलाई भन्नेहरू प्रशस्त हुनुहुन्छ।

सुश्री पारिजातको लेखन क्रममा जोखिम महसुस गर्नुभयो?

लेखन नै उदात्त र स्वतन्त्र काम हो । यसलाई जोखिम मान्न पनि सकिन्छ, स्वाभाविक मान्न पनि सकिन्छ। विश्वका विभिन्न मुलुकका जीवनी कृतिहरु पढ्दा तिनमा उल्लिखित जीवनका आन्तरिक र खुलस्त प्रस्तुति देख्दा समाजको स्तरको पनि कुरा आउँछ कि जस्तो लाग्छ। त्यो समाजले कति पचाउन सक्छ? त्यसले पनि फरक पार्दछ। नेपाली समाजको चेतनाको स्तर अनुसार यो जोखिम मैले बहन गरेकै मान्न सकिन्छ। र नेपाली समाजमा पारिजातको कृति र पारिजातलाई चिन्नेहरूको ममात्रै नभएर तमाम छन्। र पारिजातको जीवनी लेखनमा स्वयम लेखक पनि इमान्दार भएर लाग्नु पर्ने भएकाले अलिकति जोखिम पनि थियो।

पारिजातमाथि थप प्रकाश पारिएको कृति ‘सुश्री पारिजात’ हो भनेर दावी गर्न सक्नुहुन्छ?

मेरो जानकारीमा भएसम्म स्पष्टसँग जन्म मिति उल्लेख गरेर पारिजातको जीवनको सबै पक्ष समेटिएर लेखिएको यो नै पहिलो बृहत् कृति हो भनेर प्रकाशक, पाठक, अध्येताहरूले भनेका छन्। मैले दावी गरेर भन्दा पनि यसलाई परख र पारख गरेर जसले भने पनि कुरा एउटै हो। पारिजात बारे नयाँ तथ्य र जीवनका सबै पक्ष समेटिएको कृति बजारमा उपलब्ध भएको भए त न म लेख्थेँ, न प्रकाशकले नै प्रकाशन गर्थे, होइन र?

तपाईं आफै पनि अमेरिका भासिएपछि लेखनबाट टाढिनु भएको थियो। अब सुश्री पारिजातले पारिजातलाई बुझाउने कोसिस भयो नै, तपाईं आफूलाई चिनाउनचाहिँ कत्तिको भूमिका खेलेझैँ लाग्छ?

लेखन भनेको औपचारिक रूपमा जे भने पनि लेखकले आफूलाई प्रस्तुत गर्ने हो। जे लेखिन्छ आफूमार्फत् प्रस्तुत गर्ने हो। आफूलाई चिनाउनु पनि हो। पारिजातलाई मैले विस्तृत रूपमा चिनाउँदा म पनि स्वतः चिनिने कुरा स्वाभाविक हो। पारिजातलाई यसरी चिनाउने लेखक को होला भनेर मलाई पनि चिन्न खोज्छन् पाठक अध्येता भने यो पनि स्वाभाविक नै हो भन्ठान्छु। यो कृतिमार्फत् निःसन्देह म थप चिनिन्छु। तपाईंको भनाइ एकदम सही हो। यो कृतिले म जीवनी विधाको लेखक पनि बनेँ।

फाल्गुन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्