मनोविद् गोपाल ढकालसँगको कुराकानी

किशोरकिशोरीमा बढ्दो छ मानसिक समस्या, यसरी जोगाउन सकिन्छ

काठमाडौं : १३ वर्ष देखि १८ वर्षको उमेरलाई सामान्यतया: किशोरावस्थाको उमेर भनिने गरिन्छ अथवा ‘टिनएज’ पनि भन्ने गरिन्छ । जीवनका अरू कालखण्डहरू झैँ किशोरावस्थामा पनि विभिन्न किसिमका शारीरिक, मानसिक, व्यवहारजन्य एवम् संवेगात्मक परिवर्तनहरू पनि देखा पर्दछन् । यस्ता परिवर्तन हर्मोनको बद्लाब तथा पौष्टिक तत्वयुक्त खाना, सामाजिक सञ्जाल लगायतका कारणले छिट्टै देखिने गर्दछन् ।

किशोरावस्थालाई जीवनको संक्रमणकालका रूपमा पनि लिइन्छ । यो उमेरमा किशोर उमेरका केटाकेटीहरू न त बालबालिकाको स्वभाव देखाउँछन्, न त परिपक्व युवायुवती सरह नै हुने गर्छन् । किशोर उमेरका कारण मनमा अनेक तर्कनाहरू आउनेजाने गर्छन् । स–साना कुरालाई लिएर बेचैन हुने गर्छन् ।

Getty Image

केही समयअघि विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको ग्लोबल तथ्यांकले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक ७ जनामध्ये एक व्यक्तिमा मानसिक समस्या देखाएको छ। साथै १५ देखि २९ वर्षे उमेर समूहको कुल मृत्युमा आत्महत्या चौथो स्थानमा छ। परिवर्तित सन्दर्भमा अस्वाभाविक प्रतिस्पर्धा तथा भौतिकवादी दौडमा सफल हुन नसक्दा युवावस्थामा मानसिक समस्या देखिनु स्वाभाविकै ठानिए पनि किशोरकिशोरीमा डिप्रेसन, एन्जाइटी (चिन्ता) तथा आत्महत्याको सोच बढ्दै जानुलाई गम्भीर प्रकृतिको विश्व समस्या ठान्छ स्वास्थ्य संगठन। र, विश्व स्वास्थ्य संगठनको आंकडा भन्दा नेपालको तथ्यांक खासै पृथक नभएकाले किशोरावस्थाको दिमागी रोगलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा समयमै ध्यान दिनुपर्ने देखिन्छ। किशोरकिशोरीलाई शारीरिक तथा मानसिक रूपमा फिट राख्न परिवार र समाजले कस्ता कुरामा ध्यान दिनुपर्ला भन्ने विषयमा केन्द्रित रहेर मनोविद् गोपाल ढकालसँग देशसञ्चारका लागि राज सरगमले गरेको संवाद :

किशोर उमेर कस्तो उमेर हो, र समाजमा अभिभावक किन भयभित हुन्छन् ?
मान्छेको जीवनकालमा सबैभन्दा जोखिमको उमेर भनेको नै किशोर उमेर हो। अभिभावकलाई जोगाउन गाह्रो हुन्छ र स्वयम् किशोर उमेर गाह्रो समय हो।
के ठीक के बेठीक भन्ने विषय छुट्याउन सक्दैन किशोरकिशोरीहरू। किशोरका जुँगाका रेखी बस्ने र किशोरीको महिनाबारी हुने समय हो यो। अनेक रहरका बाबजुद पनि खास उद्देश्यलाई पूरा गर्न नसकिने उमेर पनि भएकोले बहकिन्छन् उनीहरू। नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई मनोवैज्ञानिकहरु ‘आँधी’ र ‘तुफान’, तनाव, आवेग तथा विरोधी अवस्था भन्न रुचाउँछन्। यस उमेरमा खासै तनाव नलिनु पर्ने हो तर तनाव अत्याधिक लिन्छन्। अझ किशोरीहरूमा तनाबले गर्दा हुने मनोवैज्ञानिक समस्या हिस्टेरिया (कर्न्भजन डिसअडर्स) पनि देखा पर्न सक्छ । मनोवैज्ञानिक रूपमा कम चेतनाको अवस्था भएकोले कतै कुलतमा फस्छन् कि, कलत कदम चाल्छन् कि, दुर्घटनामा पर्छन् कि, आफूले सोचेको जस्तो हुँदैन कि भन्ने मानसिक तनाब परिवारका सदस्यलाई पनि हुने भएकाले भयभीत हुन्छन्।

नेपालमा पनि किशोरकिशोरीहरू अत्यधिक मानसिक समस्याबाट गुज्रिनु परेको छ, हो ?
न्युयोर्क विश्वविद्यालयका डा. अग्लिस्का टिमुलाको समूहले सन् २०१२ मा प्रकाशित गरेको अन्वेषणले जीतको संभाव्यता न्युन भएको अवस्थामा समेत किशोरहरू जोखिम लिन हिच्किचाउँदैनन् भन्ने देखाएका छ। त्यस्तै सन् २०१५ मा प्रकाशित अर्को अनुसन्धानले स्कुल उमेरका प्रशिक्षार्थीहरू युवाको तुलनामा आफ्नो ज्ञानलाई समयानुकूल परिमार्जन गर्दै आफूलाई प्रतिस्पर्धी बनाउँछन् भन्ने देखायो। किशोरअवस्थामा मानिसहरू आन्तरिक द्वन्द्वबाट गुज्रन्छन् । घरपरिवार समाजले विश्वास नगरिदिँदा पनि उनीहरू सही बाटो हिड्न चुक्छन् । गल्ती गर्छु कि भन्ने डर, त्रासले सताउँछ उनीहरूलाई । र, आजको घडीमा सबैथोक पैसा भन्ने मानसिकताले पनि अर्को मानसिक समस्या बढाइदिएको छ। हरेक आवश्यकता पूरा गर्ने पैसा हो र अभिभावकले त्यो आर्थिक समस्या टार्न सकेनन् भने उनीहरू गलत बाटो लाग्न सक्छन्। मानसिक स्वास्थ्यलाई नेपालमा गंभीर रूपमा नलिँदा पनि बिरामी किशोरकिशोरीहरू मानसिक समस्याबाट गुज्रिनु परेको हो।

किशोर उमेरका मानिसहरू कस्ता स्वभाव देखाउँछन् ?
यो त्यही उमेर हो, जहाँ किशोरकिशोरीहरु ज्यादा रिसाउने, कराउने, झर्किने, दिवा सपना देख्ने, कल्पनामा रमाउने, आफु ठुलो भएको देखाउन धुम्रपान, मद्यपान गर्ने, काम क्रिडामा आफूलाई संलग्न गराउने गर्दछन्। किशोरकिशोरीहरू घरमा भन्दा बढी समय बाहिर साथीहरूसँग बिताउने गर्दछन् । साथीहरूको संगतमा परेर चुरोट, गाँजा, रक्सी खाने, खतरायुक्त काम गर्न रुचाउने हुदाँ दुर्घटना, सडक दुर्घटनामा समेत पर्न सक्छन्। साथीहरुसँग मिलेर खेल खेल्ने, घुम्न जाने, गफ गरेर समय विताउने, फिल्म हेर्ने, डिस्को/पिक्निक जाने, पार्टी, भोजभतेरमा रमाउने जस्ता क्रियाकलापमा किशोरकिशोरीहरु रूचि राख्दछन्। त्यो रूचि पुरा गर्न सकेनन् भने कुलतमा फस्ने अथवा गलत कदम उठाउन पछाडि हट्दैनन् र दुर्घटनामा पर्छन्।

किशोरकिशोरी सबैभन्दा आत्महत्या गर्छन् भन्ने एक अध्ययनले देखाएको छ । के उनीहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्या भएर नै हो?

तनाव, डर, चिन्ता, डिप्रेसन, आत्महत्या जस्ता समस्या पछिल्लो समयमा किशोरकिशोरीहरुमा बढदै गएको पाइन्छ । अध्ययन अनुसार १५ देखि २९ वर्षका किशोरकिशोरी र युवाहरूमा मृत्युको दोस्रो कारण आत्महत्या देखिन्छ र आत्महत्यको पहिलो कारण डिप्रेसन नै हो । पढाई, गृहकार्यप्रति त्यति रूचि हुँदैन । शिक्षक, विद्यालयप्रति आलोचक देखिन्छन् । उनीहरू स्वतन्त्र हुन चाहान्छन् । कसैको दवाव उनीहरूलाई मन पर्दैन । शारीरिक कमि कमजोरी, भद्दा शरीर, साथीहरूले नराम्रो उपनामले बोलाउनु, पटक–पटकको असफलता, अन्य अतिरित्त क्रियाकलापमा साथीहरूले जस्तो राम्रो गर्न नसक्नु, आर्थिक कमजोरी, आफ्नो आवश्यकता पुरा नहुनु जस्ता कुराहरूले उनीहरूलाई निराश बनाउछ । बलात्कारका घटना पनि यही उमेरसमूहका मानिससँग जोडिएर आउँछ । किशोरी बलात्कृत हुनुपर्छ भने किशोरहरू करणीको मुद्दामा मुसिन्छन् । विचार नगरी जोखिम पूर्ण व्यवहार गर्न हौसिने भएकाले उनीहरू बढी जोखिममा हुन्छन् । जोखिमा पर्छन् । समाज र परिवारको हेला र घृणाले उनीहरू जोखिम मोल्न सक्दैनन् अनि आत्महत्याको प्रयास गर्छन् कतिले आत्महत्या नै गर्छन्।

पछिल्लो समय किशोरकिशोरीलाई मानसिक समस्या बढाउनमा इन्टरनेटको पनि हात छ?
अहिले अभिभावकभन्दा पनि नजिक इन्टरनेट अथवा मोबाइल भएको छ। मोबाइलमा विश्व देखिन पाएपछि किशोरकिशोरीको सिर्जनात्मक क्षमतामा पनि ह्रास आइरहेको छ भने एकलकाटे पनि हुँदै गएका छन्। मोबाइलमा इन्टरनेटको साहरामा चिनेजानेका तथा अपरिचितहरू साथी बन्छन्। चिरपरिचितले सम्झाउलन् तर अपरिचितहरूले बहकाउँछन् फकाउँछन्। मनका कुरा सामाजिक सञ्जालबाटै राख्न पाउँछन्। प्रेम व्यक्त गर्छन्। अहिलेको किशोरकिशोरी आजको प्रविधिसँग यसरी घनिभूत भएकी उनीहरू उम्किनै नसक्ने गरी फसेका छन्। यसको अभावमा एकछिन पनि हामी बाँच्न नसक्नेजस्तो भएका छौं । अझ उर्भर उमेरमा मोबाइल र इन्टरनेट मात्रै सबथोक हो भन्न थालियो भने मानसिक समस्या नदेखिने कुरै हुँदैन । हामी संस्कारका कुरा सिकाउने गर्छौं । अनुशासनका पाठ सिकाउँछौं घरपरिवारबिच बसेर खाना खाने समय पनि दिन सक्दैनौं । बरू, उनीहरूलाई मोबाइल दिन्छौं । इन्टरनेट सेवा दिन्छौं । उनीहरू इन्टरनेटको लतमा पर्दै गएपछि दुर्घटना बढ्न पनि थालेको छ। अपरिचित मान्छेहरू च्याटबाट, भिडियो कलबाट फोन कलबाट नजिकिएको अभिभावकलाई थाहा नै हुँदैन । उनीहरूले गलत कदम उठाइसकेपछि परिवारले रुवाइ–कराई गरेर औषधी उपचार गर्नतिर लाग्छन् । यस्तो हुनुको कारण जेनेरेशन ग्याप पनि हो। त्यसैले ग्याप हटाउन पहिला त किशोरीकिशोरी र अभिभावकबिच दुरी हुनु भएन ।

अभिभावकले कस्तो भूमिका खेल्न सकेमा उनीहरू मानसिक समस्याबाट जोगाउन सकिएला ?
किशोर उमेरमा उनीहरू भित्र ‘आइडेन्टी क्राइसिस’ हुन्छ त्यसैले अनेक स्वभावहरू देखाउन सक्छन् । सही मार्गनिर्देश र परामर्श नपाउँदा किशोरकिशोरीहरूमा मानसिक तनाव उत्पन्न हुने गर्दछ । यो उमेरका किशोरकिशोरीलाई अभिभावकहरूले सही परामर्शद्धारा जीवन जीउने सीप, यौन शिक्षा, नैतिक शिक्षा, दौतरी शिक्षा, शारीरीक तथा मानसिक रूपमा आउने परिवर्तनबारे जानकारी दिन जरुरी छ । त्यस्तै, मानिसहरूसित कसरी बोल्ने, उनीहरूसित कसरी व्यवहार गर्ने, सही निर्णय कसरी लिने, सिर्जनात्मक कसरी हुने, अन्तरवैयक्तिक सम्बन्ध कसरी स्थापित गर्ने, तनाव कसरी कम गर्ने भनेर समेत सिकाउन जरुरी छ ।

नियम कानुन नमान्ने, अभिभावकलाई नटेर्ने, अराजक हुने, विद्रोह गरेजस्तो देखिन्छ । यस्तो बेला परिवार संयमित हुनुपर्‍यो र उनीहरूलाई पनि संयमित गराउनु सक्नुपर्‍यो। आफ्नो काम, कर्तव्य र जिम्मेवारी इमानदारीका साथ बहन गर्नु हौसला दिनुपर्‍यो। खुलेर उनीहरूलाई कुरा राख्न दिनुपर्‍यो र उनीहरूको कुरा सुन्दिनुपर्‍यो। बुबा आमासँगको सम्बन्ध किशोरावस्थाको सुरुमा त्यति राम्रो हुँदैन । तर, पछि क्रमश: सुधार हुँदै जान्छ । उनीहरु सोच्छन्, आमाबुवाले मेरो कुरा सुन्दै सुन्नु हुन्न ? म के चाहन्छु, भन्ने कुरा बुझ्नै चाहनुहुन्न । खाली आफ्नो कुरा मात्र लाद्नुहुन्छ भन्छन्, तर त्यस्तो हुनु भएन। अभिभावकले आफ्ना किशोरकिशोरीहरुमा देखा पर्ने मानसिक, संवेगात्मक एवम् व्यवहार जन्य परिवर्तन बारेमा जानकारी राख्नुपर्‍यो। उनीहरूबाट के कस्तो अपेक्षा राख्ने, उनीहरूलाई कसरी उत्प्रेरित गर्ने भन्ने शिप र ज्ञान अभिभावकमा हुनुपर्‍यो।

 

फाल्गुन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्