चिकित्सक श्रीमती संघको आयोजनामा वीरगञ्जको लालपर्सामा स्वास्थ्य शिविर

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५ जनाले स्वास्थ्य जाँच गराएका छन्।

शनिबार लालपर्सा स्वास्थ्य चौकीमा आयोजित शिविरमा फिजिसियन, बाल रोग, स्त्री रोग र दन्त रोग विशेषज्ञले चेकजाँच गरेका थिए। पर्सा चिकित्सिक श्रीमती संघले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर निरज सिंह, अशोक दास, सोनी झा, रामकिशोर सिंह, दिप्ती यादव, प्रेरणा सिंहलगायतले बिरामी जाँच गरेको संघकी अध्यक्ष नीता झाले जानकारी दिइन्।

उनले गाउँमा भएका बिरामीहरुलाई सहरमा पुग्न समय लाग्ने भएकाले गाउँमै पुगेर शिविरको आयोजना गरेको बताइन्। शिविरमा उल्लेखनीय रुपमा बिरामीहरुले जाँच गराएको संघकी सदस्य पिया सिंहले बताइन्। आगामी दिनमा पनि यस्तो शिविर महानगरको ग्रामीण भेगमा आयोजना गर्ने उनले बताइन्।

लालपर्सा टोल महानगरमै पर्ने भए पनि हालसम्म पनि सहज स्वास्थ्य सेवा पुग्न नसकेकोले गाउँकै स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरहरुलाई बोलाएर स्वास्थ्य जाँच गराएको वडाध्यक्ष मनोज यादवले बताए।

फाल्गुन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्