
विश्वमा कोरोना संक्रमण घट्दै जाने क्रम हाल पनि जारी छ। विश्वका धेरै देशमा कोरोना संक्रमण हाल निकै कम भइसकेको छ। यद्यपि केही देशमा हाल पनि दैनिक ५०००देखि १०००० नयाँ संक्रमण र ५०देखि १०० नयाँ कोरोना मृत्यु देखा परिरहेका छन्। तर यी संख्या पनि पहिलको तुलनामा हाल निकै सानो साबित भइसकेका छन्।
विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। तर, हाल केही हप्तादेखि दक्षिण एसियाको दैनिक कोरोना संक्रमणमा केही सामान्य वृद्धि भएको देखिन्छ। दक्षिण एसियाको पछिल्लो करिब तीन हप्ता, २०२३ फेब्रुअरी १३ देखि मार्च ६ (२२ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।
पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण निकै न्यून छ। तर चित्र न. १ मा देखाइएजस्तै पछिल्लो तीन हप्तामा दक्षिण एसियाको समग्र कोरोना संक्रमणको प्रबृत्ति केही बढ्न खोजेजस्तो देखिन्छ र पछिल्लो अवास्थामा दैनिक औसत संक्रमण संख्या करिब ३०० पुगेको छ। यो संख्या दुई हप्ताअघि करिब १८० थियो। त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युचाहिं निकै कम देखिन्छ।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ मार्च ५ देखि ११ (बि.सं २०७९ फाल्गुण २१ देखि २७)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्तिचित्र न.२मा प्रस्तुत गरिएको छ।यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन,फाल्गुण २७ गते शनिबारसम्म, देशभरि जम्मा१२जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या१००११६१पुगेको छ। दुई र तीन हप्ताअघि नेपालको साप्ताहिक कुल संक्रमण संख्या क्रमशः ९ र ७ थिए।
त्यस्तै चित्र न.२ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम शन्यदेखि अधिकतम ५.९३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १.६% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः ०.४२% र ०.५८% थिए।
गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०२० पुगेको छ। गत हप्ता देशभरि जम्मा ७१८ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि १४०२थियो।
संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण समग्रमा कम हुँदै गएको छ। हाल विश्वभरि कोरोना संक्रमण निकै शान्त देखिन्छ। यद्यपि, हाल पनि कोरोना संक्रमण विश्वका केही देशमा केही हदसम्म बाँकी नै छ।
दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा पनि निकै कमी आएको देखिन्छ। तर, केही हप्ताको प्रबृत्ति हेर्ने हो भने दक्षिण एसियाको समग्र दैनिक संक्रमणमा केही सामान्य वृद्धि भएको देखिन्छ।
नेपालमा पनि गत हप्ता,बि.सं २०७९ फाल्गुण २१ देखि २७, साप्ताहिक नयाँ कोरोना संक्रमणको प्रबृत्तिमा सामान्य वृद्धि भएको देखिएको छ र फलस्वरूप दैनिक संक्रमण दर पनि वृद्धि भई ५.९% सम्म पुगेको छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।