राज्यको सहयोगबिना फिल्म फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्न गाह्रो छ: केपी पाठक

सामाजिक, राजनीतिक र चलचित्र क्षेत्रका विकृतिप्रति आलोचनात्मक टिप्पणी गर्न माहिर छन् चलचित्र निर्देशक केपी पाठक। करिब १३ वर्ष अगाडि फिल्म ‘मैना’ निर्देशन गरेका केपी पाठक त्यसयता फिल्म निर्माणबाहेक वृत्तचित्र निर्माण, फेस्टिभल आयोजनालगायत विभिन्न फिल्मी गतिविधिमा सक्रिय रहँदै आएका छन्।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष, चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा प्रवक्तासमेत रहेका उनी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफ आयोजक संस्था ‘चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष पनि हुन्।

हरेक वर्ष फेस्टिभल घाटामा गए भए पनि नेपाली फिल्मको स्तरोन्नति, अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यका साथ उनले निफ फिल्म फेस्टिभल आयोजना गर्दै आएका छन्। निफ यो वर्ष अगामी चैत २ देखि ६ गतेसम्म आयोजना हुँदैछ।

यस पटक निफमा २५ देशका ९५ फिल्म सहभागी हुँदैछन्। यतिखेर समाज आर्थिक मन्दीको मारमा परेको बेला पाठक निफलाई सफल पार्न दौडधूपमा छन्। निफको अन्तिम तयारीमा जुटेका पाठकसँग देश सञ्चारका लागि राज सरगमले गरेको कुराकानीकाे सम्पादित अंश:

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को छैटौँ संस्करणको तयारीमा हुनुहुन्छ, कस्तो चलिरहेको छ?

फिल्म फेस्टिभललाई पहिलो चाहिने भनेको फिल्म नै हो। र फिल्म हामीले सेलेक्ट गरिसकेका छौँ। राम्रा जुरीहरू चाहिन्थ्यो, उहाँहरू पनि सेलेक्ट भइसक्नु भएको छ। र पार्टी सेपेन्ट फिल्मका फिल्म मेकर आउन तयार हुनु भएको छ। नेपाली फिल्म मेकर र अन्तर्राष्ट्रिय फिल्म मेकरबीच बहस तथा छलफल चलाउन विभिन्न सेसनहरू पनि तयार भइसकेका छन्। त्यसका लागि फिल्म मेकर आउने क्रम छ। चैतको १ गतेदेखि अन्तर्राष्ट्रिय फिल्म मेकरहरू आउने क्रम हुनेछ। व्यवस्थापन पाटोको पनि अन्तिम चरणमा छौँ हामी। भेनुहरू पनि सबै तयारी भइसकेको छ। तयारीको अन्तिम-अन्तिम चरणमा अत्यन्तै हतारमा छौँ हामी अहिले।

अन्तर्राष्ट्रिय फिल्म मेकरमा को कहाँबाट आउँदै हुनुहुन्छ?

मसँग अहिले नामावालीको लिस्ट भएन।  २० देशका ५० बढी फिल्म मेकरहरू नेपाल आउँदै हुनुहुन्छ। जुरी हेडहरू पनि चैत्रको १ देखि ३ गते भित्र आसपास काठमाडौँ आइपुग्नु हुनेछ। केही फिल्म मेकरहरू फेस्टिभलकै क्रममा नेपाल आउनुहुनेछ । अधिकांश फिल्म मेकरहरू भने उद्घाटन समारोहलाई सहभागी हुनेगरी आउनु हुनेछ । चाइना, भारतलगायतका दर्जन बढी देशका फिल्म मेकर आउनुहुनेछ ।

अहिले छैटाैँ संस्करणमा कति देशका फिल्म सहभागी हुँदैछन् ?

फिल्म त धेरै नै आएको हो। ५५ देशका फिल्महरू आएका थिए तर ३५ देशका ९५ फिल्म छैटौँ संस्करणमा सहभागी हुँदैछन्। ‘चरी’ भन्ने फिल्म देखाएर उद्घाटन गर्ने तयारीमा छौँ। चार भेनुमा पाँच दिनसम्म फिल्म चल्नेछ। केही खल्ती एपबाट र क्युएफएक्सबाट पनि चल्ने छ। ब्यानरहरू देखाउन सुरु भएको छ। हाम्रा पार्टनरहरू पनि फिल्म प्रचारप्रसारमा सघाउँदै हुनुहुन्छ र हामी पनि यसलाई सर्वसाधारणसम्म पुगोस् भनेर मिडियामा पुगिरहेका छौँ।

सबै दर्शकलाई देखाउन खोजिएको फिल्म फेस्टिभलमा टिकट राख्दा सहज हुन्छ, टिकट प्रणालीले आम दर्शकलाई समेट्न सकिन्छ?

फिल्म हेर्न आउने नै टिकट काटेर हो। हामीले क्युएफएक्समा विशेष अनुरोध गरेर निफमा देखाइने फिल्महरू स्पेसल डिस्काउण्ट रेटमा हेर्न दिने व्यवस्था गरेका छौँ। हरेक शोमा १५० प्रति टिकटको मूल्य राखेका छौँ, जहाँ फिल्म हेर्न अघिपछि चार-पाँच सय खर्च हुन्थ्यो। फिल्मको माध्यमबाट संसारलाई चिनाउन सकियोस् भन्ने हेतुले दिनमा चार शो हेर्नलाई डे पास भनेका छौँ, जुन पाँच सय खर्च गरे मात्र हुन्छ। र पूरै शो अर्थात् ३८ वटा शो हेर्नका लागि जम्मा दुई हजार रुपैयाँ खर्च पुग्छ।

पछिल्लो समय फिल्म बजार खस्किएको अवस्था छ। कुनै पनि जनराको फिल्म चलेको छैन। निफले नेपाली फिल्म बजारलाई उकास्न कत्तिको प्रभावकारी भूमिका खेल्नसक्छ भन्ने छ?

यस्ता फेस्टिबलहरूले ठ्याक्कै कमर्सियल आंकडाबाट बजारलाई उकास्ने काम गर्दैन तर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका बढी भन्दा बढी फिल्म हेर्ने वातावरण भने बनाउछ। संसारमा कस्ता फिल्म बनेका छन्, कसरी बनाइरहेका छन्, कस्ता कथामा काम गरिरहेका छन् भन्ने विषयलाई यस्ता फेस्टिभलले दर्शकलाई बुझाउन सघाउने हो। सिनेमामार्फत् संसारभरि यात्रा गर्न सकिन्छ। पाँच दिनमा ३५ देश घुम्नुका साथै त्यहाँको समाज, संस्कृतिको बारेमा बुझ्न मद्दत गराउँछ। र फिल्म मेकरलाई फिल्म फेस्टिभलको वातावरण बनाउँछ भने दर्शकहरूलाई फरक-फरक जनरामा बनेका विश्वका सिनेमाका बारेमा बुझ्न सघाउँछ। फिल्म हेर्ने मात्रै नभएर बहसको सिर्जना गराउँछ, छलफल गराउँछ।

निफमा छनोट भएका फिल्मले नेपाली समाजलाई केही प्रभाव पार्छ भन्ने पनि छ?

निफमा सहभागी भएका फिल्म हेरेर दर्शकले विश्वका फरक समाज, संस्कृति र भूगोललाई चिन्न पाउनुहुन्छ र हाम्रो समाज कसरी चलिरहेको छ भन्ने महसुस गर्न सक्नुहुन्छ। कलाबाट आनन्द लिन पनि सक्नुहुन्छ। दर्शकको रुचि अनुसारका फिल्मले फरक-फरक मनोविज्ञान सिर्जना गर्न सक्छ।

नेपाली बजारमा चलिआएको फिल्म फेस्टिबल र अन्तर्राष्ट्रिय बजारमा चल्ने फेस्टिबलभन्दा निफ के कुरामा फरक छ भनेर दावी गर्न सक्नुहुन्छ?

नेपाली फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय बजारमा चल्ने फिल्म फेस्टिबलको करिब-करिब संरचना एकै हो, मात्र विषयवस्तु फरक हो। अहिले नेपालमा देखाउने फिल्म फेस्टिभलभन्दा निफ के कुरामा फरक छ भने हामी मेनस्ट्रिमलाई सँगै लिएर हिँडेका छौँ। अल्टरनेटलाई मात्रै नभएर मेनस्ट्रिम कलाकार र मेकरलाई बोलाएर बहस गराउँदै आएका छौँ। विभिन्न सेसनमा अल्टरनेटिभ फिल्म मेकरका साथै मेनस्ट्रिम फिल्म मेकरलाई पनि स्थान दिएका छौँ। साथै अन्य फिल्म फेस्टिभलभन्दा निफको बजेट पनि लार्जर स्केलमा छ। फिल्म पनि बढी नै छान्छौँ र फिल्म मेकरहरू पनि बढी नै ल्याउँछौँ। सेसन बढी छन्। साथै नेपाली बजारमा उत्पादन हुने लोकल सिनेमाहरूलाई अन्तर्राष्ट्रिय फिल्म बजारमा लैजान पुलको काम गरोस् भन्ने हो। नेपाली र विदेशी फिल्म मेकरहरूसँगै काम गर्ने वातावरण बनोस् भन्ने हो। बाहिरका फिल्म फेस्टिभलको संरचनालाई केही पछ्याइरहेका छौँ। जबसम्म फिल्म बजारको स्टल हुँदैन, जबसम्म मार्केट बन्दैन, तबसम्म फेस्टिभल कमर्सियल बन्न सक्दैन। यही खर्च जुटाउन पनि गाह्रो भइरहेको छ।

यतिखेर अर्थ बजार खस्किएको अवस्था हो । बजारमा आर्थिक बजार मन्दी भएको कारण धेरै कारोबार रोकिन पुगेका छन्। बैंक तथा वित्तीय संघसंस्थामा पैसाको अभाव खट्कियो भन्ने छ, यस्तो समयमा फिल्म फेस्टिबल गर्न कस्ता चुनौती हुन्छन्?

आर्थिक बजारमा यतिखेर मन्दी नै छ, जसका कारणले अघिल्ला पार्टनरहरू पनि पछि हट्नु भएको छ। र सहजै हुँदा पनि फेस्टिभल गर्न गाह्रै थियो। फेस्टिभललाई बजेट जुटाउन सधैँ रुवाबासी गर्नुपर्छ। सधैँ अनुरोध गर्नुपर्छ। सधैँ हातपाउ जोड्नुपर्ने अवस्था छ। प्रतिकूल अवस्थामा अहिले पनि केही संघसंस्थाले सहयोग र साथ दिइरहेका छन्। जस्तै चलचित्र विकास बोर्डले निरन्तरता दिनुभएको छ। पहिलेका वर्षमा भन्दा अहिले अलि उदार हुने काठमाडौँ महानगरपालिका पनि छ। सायद हाम्रो मेयर बालेन साह कलाकार नै भएर हुन सक्छ। माया एकेडेमीको सहयोग र साथ रहेको छ। यो अवस्थामा धेरै पार्टनरहरूकाे पनि हामीलाई साथ र सपोर्ट मिलेको छ।

विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा गइराख्नु हुन्छ। फिल्म फेस्टिबलहरू बन्द पनि हुन पुगेका छन्। अघिल्लो फिल्म फेस्टिभलमा पनि तपाईंले घाटा भएको बारे बोल्नु भएको थियो। घाटा हुँदाहुँदै पनि फिल्म फेस्टिबललाई निरन्तरता दिन केले हौसाउँछ?

कोही न कोहीले यस्ता फेस्टिभल गर्नै पर्छ। नेपाली फिल्म बजारलाई अन्तर्राष्ट्रिय बजारमा लैजानु त पर्‍याे नि। निफ त एउटा मार्केटिङ न हो। असी नब्बेवटा देशमा नेपाली फिल्म जोडिन यस्ता फेस्टिबलले पुलको काम गर्छ। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसँग जोडिरहेका छौँ। नेपाली फिल्मलाई प्रमोट गरेका छौँ।

नेपाली फिल्म नेपालभित्रै सीमित भइरहेका बेला निफजस्ता फेस्टिभलले आउट अफ द बक्स सोच्न बाध्य बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा लैजाने कोसिस त कसै न कसैको त हुनु पर्‍‍याे। हाम्रोमा विश्वव्यापी रूपमा नेपाली फिल्म कसरी लैजाने भन्ने बहस त हुनुपर्‍याे। सा-साना ओटिटीमार्फत् पनि फिल्म बेच्न सकिन्छ। नेटफ्लिक्स, अमेजन प्राइममा मात्रै फिल्म कसरी बेच्ने भन्ने कुरा गर्छौँ। तर हाम्रो फिल्म भन्ने शैली र कथा वाचनलाई परिमार्जन गर्नतिर लाग्दैनौँ। हामीले केही नयाँ काम गर्न पनि फिल्म फेस्टिभलले सघाउने र आफूले पनि सिक्ने पाइने भएकोले यसलाई निरन्तरता दिन चाहेको हुँ।

निफको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कुरा छ, तर राज्यले त फिल्मलाई कहिल्यै सहयोग गरेन भन्ने आरोप छ नि?

प्रधानमन्त्री नहुँदा पनि हाम्रो निफको दोस्रो संस्करणमा प्रमुख अतिथि भएर उद्घाटन गर्नु भएको थियो प्रचण्डले। दोस्रोमा आउनु भएको थियो। अब छैटौँ संस्करणमा पनि आउनु हुन्छ। सरकार प्रमुख आएर फेस्टिबलको उद्घाटन गर्नु भनेको अन्तर्राष्ट्रिय फिल्म मेकरका आँखामा राज्यले नेपाली सिनेमालाई प्रेम गर्छ, सहयोग गर्छ भन्ने सन्देश पनि जानु हो। फेरि प्रधानमन्त्री प्रचण्ड कला संस्कृतिलाई प्रेम गर्ने व्यक्ति पनि हुनुहुन्छ। नेपालको सरकारको कार्यकारी नै आएर सपोर्ट हुन्छ भन्ने विदेशी फिल्म मेकरलाई हौसला र गर्विलो विश्वास पनि हो। नेपाल भनेको फिल्मल्याण्ड रहेछ भन्ने भाष्य पनि पैदा हुन्छ। हाम्रो देशमा सुटिङ गर्न सहयोग पुग्ने वातावरण पनि हो।

यहाँ रोजगारी बढ्छ विदेशी मुद्रा आर्जन हुने भो । पर्यटकीय क्षेत्रको विकास हुन्छ। फिल्मका कुरा प्रधानमन्त्रीले सुन्नु भनेको राज्यले सुन्नु हो। हाम्रो कुरा पनि सरकारलाई सुनाउन पायौँ। राज्यले दुई-चार करोड छुट्याउन सक्यो भने एम्बेसी धाउनु परेन, एनजिओसँग हातपाउ जोड्नु परेन। अन्तर्राष्ट्रिय बजारमा समेत छवि बनाएको फिल्म फेस्टिभललाई राज्यले सहयोग गरिदिए पनि नेपाली फिल्म बजार फस्टाउन समय नै लाग्दैन। त्यसैले नेपाली फिल्म र यस्ता फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्न राज्यको सहयोगबिना गाह्रो छ। र अन्तिममा प्रधानमन्त्री प्रचण्डले भवितव्य भयो भने आउन सक्दिनँ नत्र म आउँछु भन्नु नै भएको छ, हामी खुसी छौँ।

फाल्गुन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्