शपथग्रहणमा पौडेलको हडबडले निम्तिएको गडबड

तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ– सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्दा शितल निवासमा आयोजित राजकीय समारोह भ्रदगोल बन्न पुगेको छ।

राष्ट्रपति पदको औपचारिक समारोह चुस्तदुरुस्तता कायम गर्ने उच्चतम पदमा पुगेकाहरु चुकेका छन् अर्को तर्फ शपथका क्रममा राष्ट्रपति पौडेलले गलत शब्दको उच्चारण गरेका छन्।

यसअघि पटक पटक विभिन्न राजकीय पदको शपथग्रहण गरेको भए पनि राष्ट्रपति पौडेलले औपचारिक समारोहमा गरेको व्यवहार अपरिपक्व र हडबडपूर्ण देखियो।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण काकीसँग पद तथा गोपनीयताको शपथ लिन लागेका पौडेलले हडबडाउँदा पछाडि रहेका सुरक्षाकर्मीले उनलाई रोकेर सिकाएको श्रव्यदृश्यमा देखिन्छ। राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले शपथ ग्रहणका लागि आग्रह गरेपछि कायम मुकायम प्रधानन्यायाधीशले ‘म’ भनेर पौडेललाई बोल्न समय दिए।

तर, उनी कार्कीलाई उछिन्दै ‘म रामचन्द्र पौडेल मुलुक र जनताप्रति पूर्ण बफादर रही सत्यनिष्ठा पूर्वक……’ भन्दै शपथग्रहणपत्रमा लेखिएको व्यवहार धमाधम पढ्न थाले। पौडेलले आफूलाई उछिनेर अघि बढेपछि कार्की पनि ‘के भो’ भन्दै अलमलिए।

दायाँबायाँ उभिएका राष्ट्रपति विद्या भणडरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्की र पौडेललाई हेर्दै अलमलिए। माइक मिलाउने क्रममा पछाडि रहेका अर्का सुरक्षाकर्मीले पौडेललाई रोक्दै भने, ‘उहाँले भनेपछि मात्रै हजुरले भन्नुपर्‍यो।’

सुरक्षाकर्मीले सिकाएपछि कायम मुकायम प्रधानन्यायाधीशलाई पछ्याएका पौडेलले शपथमा लिइएको ‘प्रतिज्ञा’ गर्छु भन्ने शब्दको सट्टा ‘प्रतीक्षा’ गर्छु भन्ने वाचन गरेका छन्। शपथ ग्रहणमा सामान्य शब्द पनि तलमाथि पर्नु हुँदैन भन्ने मान्यता छ।

२०७८ साल वैशाख ३१ केपी ओलीले प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा’ गर्छु भन्ने शब्द नभन्दा विवादमा परेका थिए। ओलीले ‘प्रतिज्ञा’ गर्छु भन्ने शब्द छुटाएपछि राष्ट्रपति भण्डारीले दोहोर्‍याएर  ‘प्रतिज्ञा’ भन्दा ओलीले ‘त्यो पर्दैन’ भन्दै जवाफ फर्काएर अघि बढेका थिए।

उनको उक्त शपथविरुद्ध सर्वोच्चमा परेका रिट अझै विचाराधीन छन् भने शपथ ग्रहणमै राष्ट्रपतिलाई निर्देशन दिने उनको कामको चर्को आलोचना भएको थियो।

सन् २००९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथ ग्रहणका क्रममा एउटा शब्दको ‘सिक्वेन्स’ परिवर्तन गर्दा दोहोर्‍याएर शपथ ग्रहण गर्नुपरेको थियो

शपथ ग्रहणमा अर्को भद्रगोल कुर्सी हस्तान्तरणमा देखियो। नयाँले शपथ ग्रहण गरेपछि पुरानोले आफू बसेको कुर्सी छाडेर बायाँतिर सर्नुपर्ने अभ्यास भए पनि मंगलबार त्यो गरिएन। शपथ ग्रहण पत्रमा हस्ताक्षर गरेपछि भण्डारीले आफू बसेको कुर्सी पौडेललाई दिएर बायाँ सर्नुपर्ने भए पनि त्यो गरिएन।

निवर्मतमान राष्ट्रपति भइसक्दा पनि भण्डारी मुख्य कुर्सीमै रहिन् भने पौडेल बायाँतिर नै रहे।

पौडेलले भण्डारीलाई बिदाइका लागि गाडीसम्मै पुर्‍याउनै गएको विषयले पनि चर्चा पाएको छ। राष्ट्राध्यक्षको जिम्मेवारी पाइसकेपछि पूर्वभएकी भण्डारीलाई केही परसम्म मात्रै छाड्दा हुने भए पनि पौडेल मञ्च पछाडि गाडीसम्मै पुगेका थिए।

यसलाई शिष्टताका रुपमा लिनुपर्ने राष्ट्रपति कार्यालयमा रहेर काम गरेका पत्रकार राजेन्द्र दाहाल बताउँछन्। उनी भन्छन्, ‘पुर्‍याउन गएको कुरालाई सकारात्मक रुपमा लिनुपर्छ। किनभने शितल ‍निवास राष्ट्रपतिको घर हो, रामचन्द्रले शपथ ग्रहण गरेपछि त्यसको प्रमुख उनी भए। भण्डारी आगन्तुक भइन। गेष्टलाई विनम्रता देखाउनु स्वभाविक र राम्रो मान्नुपर्छ।’

फाल्गुन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्