तनहुँमा लागुऔषधसहित तीन युवा पक्राउ

पोखरा – तनहुँमा लागुऔषधसहित ३ युवा पक्राउ परेका छन्। तनहुँ प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मंगलबार बिहान ३४५ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो।
भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १८२ नम्बरको बस चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।
बसमा सवार रुपन्देहीको सिद्वार्थ नगरपालिका–६ पिपरैयाका ४० वर्षीय महेशको चमारको झोलाबाट डाइजापाम, फेनरागन र नुर्फिन १००/१०० एम्पुल बरामद गरेको उनले जानकारी दिए।
सोही बसमा सवार तनहुँको ऋषिङ गाउँपालिका–१ सपाङदीका २१ वर्षीय आकाश गाहा मगरको साथबाट डाइजापाम, फेनरागन र नुर्फिन १५/१५ एम्पुल बरामद भएको छ। लागुऔषध कारोबारमा संग्लन तनहुँकै देवघाट गाउँपालिका–२ बैडीका २१ वर्षीय सुरज थापा पनि पक्राउ परेका छन्।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट १० दिने म्याद थप गरी अनुसन्धान थालेको सूचना अधिकारी खाँणले बताए।