दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरूको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि नै इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपण गरेको छ।

जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका हुन्।

बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर टाढा समुद्रमा खसेको थियो।

जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आइसिबिएम भएको स्वीकार गरेको छ।

पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो। यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीका थिए।

कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेकाे हाे।

उत्तर कोरियाले नाैसेना अभ्यासलाई उक्साउने कामको रूपमा हेर्दै आइरहेकाे छ।

यता दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मिसाइल प्रक्षेपणपछि पनि अमेरिकासँगको संयुक्त अभ्यास जारी रहने बताएका छन्।

बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले पनि आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन्।

चैत २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्