चैत ६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालको पत्र संसदमा

फाइल तस्बिर।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन्।

दाहालले बिहीबार ६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र पठाएका हुन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको पत्र प्राप्त गरेको जानकारी दिए।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यस दिन प्रतिनिधिसभामा उपस्थित २७० सांसद मध्ये २६८ जनाको मत पाएका थिए।

तर फागुन २५ गते भएको राष्ट्रपति चुनावसँगै सत्ता गठबन्धनमा आएको हेरफरका कारण दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गरेको दलले फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

धारा १०० (२) मा उल्लेख गरिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’

सरकारमा सहभागी दल एमाले र राप्रपा समर्थन फिर्ता लिँदै विपक्षी कित्तामा उभिएपछि प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइलागेको हो।

राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिने भएपछि पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन उपत्यका बाहिर नजाने निर्देशन दिएका छन्।

विश्वासको मत लगत्तै मन्त्रिरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्।

चैत २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्