निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैनः स्वास्थ्य सचिव पोखरेल

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन्।

बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निजी अस्पताललाई बीमाको जिम्मा दिनु नहुने बताएका हुन्।

उनले बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भए पनि सरकारको अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्ने बताए। उनले मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरुलाई बीमाको जिम्मा दिन सकिए पनि निजी अस्पताललाई बीमा दिँदा दुरुपयोग भइरहेको उल्लेख गरे।

उनले भने, ‘निजी अस्पताललाई बीमा दिनु हुँदैन। त्यो हुँदा एक वर्ष, दुई वर्ष गाह्रो हुन्छ। तर नेपाल सरकारको अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्छ।’

उनले अहिलेको स्वास्थ्य बीमा बीमाजस्तो नभइ राज्यले सामाजिक दायित्व पूरा गरेकोजस्तो भएको बताए। सचिव पोखरेलले बीमामा व्यक्तिले केही पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने दाबी गरे। उनले अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने बताए।

यसवर्ष पनि साढे ८ अर्बभन्दा बढी बिमितहरुले सुविधा लिएको पैसा दिन बाँकी रहेको उनले बताए। उनले प्रिमियम उठाउने पैसाले बीमा सञ्चालन गर्न गाह्रो भएको बताए।

उनले बीमामा सरकारका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई नसमेटिएसम्म बीमा परिष्कृत हुन नसक्ने बताए।

चैत २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्