उपराष्ट्रपति निर्वाचनमा पनि रास्वपा विभाजित

रास्वपाका सभापति रवि लामिछाने। फाइल तस्बिर।

काठमाडौँ–रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)उपराष्ट्रपति निर्वाचनमा पनि विभाजित भएको छ।

उपराष्ट्रपति निर्वाचनमा भाग लिने, नलिने वा मत दिए कसलाई दिने भन्नेमा रास्वपा एकजुट हुन नसकेको हो।

माघ २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि अनिर्णित बनेको रास्वपाले अन्तिम समयमा सत्ता गठबन्धनको साझा उमेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो।

उपराष्ट्रपतिमा कसलाई मत दिने भन्नेबारे आज मतदानकै दिन बैठक बसेर टुंगो लगाउने भने पनि बैठक स्थगित भएको भनिएको छ।

आज पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय लिने भनिएपनि निर्वाचन आचारसंहिताको कारण बैठक स्थगित भएको प्रवक्ता मुकुल ढकालले बताए।

बैठक स्थगित भएपनि पार्टीमा आन्तरिक छलफल गरेर मतदानको बिषय टुंगो लगाउने प्रवक्ता ढकालले देश सञ्चारसँग बताए।

ढकालले मत दिने नदिने टुंगो लागिनसकेको बताएपनि पार्टीका केहि नेताहरु भने मत दिने निर्णय भएको बताएका छन्।

प्रवक्ताको जवाफलाई अन्य नेताहरुले खण्डन गरेका कारण पार्टीभित्रको विवाद प्रष्ट भएको हो।

 

 

चैत ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्