एकदिवसीय विश्वकप पुग्ने यात्रा कति सहज?

काठमाडौँ – नेपालले सनसनीपूर्ण रुपमा विश्वकप क्रिकेट लिग-२ का १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप छनोटमा पुग्दा धेरैले विश्वकप नै खेल्न लागेको अर्थमा बुझेका छन्। तर भारत विश्वकपको यात्रा निकै कठिन छ। यो अभियानमा टेस्ट राष्ट्रहरुसँगै बलिया एसोसिएट राष्ट्रहरुको चुनौतीसमेत पन्छाउन सक्नुपर्ने छ।

एकदिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर-नोभेम्बरमा भारतमा आयोजना हुँदै छ। आयोजकको नाताले भारतले विश्वकपमा सोझै स्थान बनाउँदा अन्य टिमले भने प्रतिस्पर्धाबाट विश्वकपमा स्थान बनाउँदै गएका छन्। जसमा भारतसहित ७ टिमको तय भइसकेको छ।

आईसिसीले १० देश सहभागी हुने विश्वकपका लागि फुल मेम्बर (टेस्ट) राष्ट्रहरुले आईसिसी च्यालेन्ज कपबाट ८ टिमले सोझै एकदिवसीय विश्वकपमा स्थान बनाउँछन्, अन्य टिमले भने बाँकी दुई स्थानका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने छ। ७ टिम (आयोजक भारतसहित न्युजिल्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान) को विश्वकप यात्रा पक्का भइसक्दा बाँकी ३ स्थानका लागि अहिलेसम्म कुल १५ टिम प्रतिस्पर्धामा छन्। अब फाइनल छनोटका लागि तीन चरणबाट कुल १० टिम जिम्बाब्वे पुग्ने छन्। जहाँबाट शिर्ष दुई टिमले विश्वकपमा स्थान बनाउने छन्।

कसरी हुन्छ आईसिसी विश्वकप क्वालिफायर?


विश्वकप क्वालिफायरमा आईसीसी सुपर लिगबाट पुछारमा रहेका पाँच टिम (वेस्टइन्डिज/दक्षिण अफ्रिका/ श्रीलंका/आयरल्यान्ड) मध्येबाट एक टिम विश्वकपमा पुग्दा बाँकी तीनसहित जिम्बाब्वे र नेदरल्यान्ड्स, त्यस्तै  विश्वकप क्रिकेट लिग-२ बाट शीर्ष स्थानमा रहेका तीन (स्कटल्यान्ड, ओमान  र नेपाल)  टिम  र नामिबियामा हुने प्लेअफबाट शीर्ष स्थानमा रहने दुई टिम (तय हुन बाँकी)गरी कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन्।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिने छ। पाँच-पाँच टिमको दुई समूहको लिगपछि सुपर सिक्स हुने छ। सुपर सिक्समा दुवै समूहका शिर्ष तीन-तीन टिम पुग्ने छन्। सुपर सिक्समा ६ टिमले एक आपसमा राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्ने छन्। जहाँबाट शीर्ष दुई टिमले भारत विश्वकपको यात्रा पक्का गर्ने छन्।

के हो आईसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिग?


२०२० देखि २०२३ सम्म १२ टेस्ट राष्ट्र र नेदरल्यान्ड (विश्वकप लिग च्याम्पिनसिपको च्याम्पियन बनेपछि पाएको अवसर) सहित १३ राष्ट्रबीच एकदिवसीय अन्तराष्ट्रिय सिरिजहरु भए। जहाँ अङ्कका आधारमा शिर्ष ८ टिमले सोझै विश्वकपमा स्थान बनाउने छन्। जसमा ७ टिमको तय हुँदा बाँकी एक टिमको टुंगो लाग्न बाँकी छ।

अहिलेसम्म सार्वजानिक फिक्सर्समा मार्च र अप्रिल पहिलो साता सम्ममा न्युजिल्यान्डले श्रीलंङ्कासँग तीन खेल र दक्षिण अफ्रिकाले नेदरल्यन्डसँग दुई खेल खेल्ने छन्। जहाँबाट वेस्टइन्डिज, दक्षिण अफ्रिका, श्रीलंकामध्ये एक टिमले अन्तिम आठमा स्थान बनाउने छन्। यी तीनमध्ये दुईसहित आयरल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड गरी ५ टिम विश्वकप क्वालिफायरका लागि जिम्बाब्वे आउने छन्।

विश्वकप क्रिकेट लिग-२


२०१९ देखि २०२३ सम्म ७ देश सम्मिलित (स्कटल्यान्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्युगिनी) सिरिजबाट शीर्ष तीनमा रहने टिमले विश्वकप क्वालिफायरमा स्थान बनाइसकेका छन्। जसमा स्कटल्यान्ड च्याम्पियन बनेर छनोट हुँदा ओमान र नेपाल पनि छनोट भएका छन्। विश्वकप लिग-२ बाट यी तीन टिम क्वालिफायरका लागि जिम्बाब्वे पुग्ने छन्।

विश्वकप क्रिकेट च्यालेन्ज लिग


विश्वकप च्यालेन्ज लिग पनि विश्वकप क्वालिफायरसम्म पुग्ने अर्को एउटा आधार भएको प्रतियोगिता हो। कुल १२ टिम सहभागी प्रतियोगितालाई २ समूह विभाजन गरेर खेलाइएको थियो।

दुबै समूहको शीर्ष दुई टिमले क्वालिफायर प्लेअफमा स्थान बनाउने छन्। जहाँ शीर्ष २ मा रहने टिमले विश्वकप क्वालिफायरमा स्थान बनाउने छन्। अर्थात च्यालेन्ज लिगको समूह एमा क्यानडा, डेनमार्क, कतार, सिंगापुर, मलेसिया र भानुआटु रहेका थिए। जहाँ क्यानडा शीर्ष स्थानमा रहँदै क्वालीफायर प्लेअफमा पुग्यो।

त्यस्तै, समूह बीमा जर्सी, युगान्डा, हङकङ, केन्या, इटाली, बर्मुडा रहेका थिए। जहाँ समान अङ्क भए पनि नेट रनरेटमा युगान्डालाई पछि पार्दै जर्सी क्वालिफायर प्लेअफमा छनोट भयो। अर्थात च्यालेन्ज लिगबाट जर्सी र क्यानडाले स्थान बनाए।

क्वालिफायर प्लेअफ


आगामी २४ मार्चदेखि ५ अप्रिलसम्म नामिबियामा हुने क्वालिफायर प्लेअफको समीकरण पूरा भएको छ। जहाँ विश्वकप क्रिकेट लिग-२ बाट पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, युएई र पपुवा न्यु गिनी तथा क्रिकेट विश्वकप च्यालेन्ज लिगका शीर्ष दुई टिम क्यानडा र जर्सी गरी कुल ६ टिमबीच हुने खेलबाट शीर्ष दुई टिमले विश्वकप क्वालिफायरका लागि जिम्बाब्वेको टिकट काट्ने छन्।

शीर्ष दुईमा रहने टिमले एकदिवसीय अन्तराष्ट्रिय मान्यतासमेत प्राप्त गर्नेछन्। एकदिवसीय मान्यता प्राप्त अमेरिका र नामिबिया शीर्ष दुईमा रहे त्यसपछिका दुई टिमले एकदिवसीय मान्यता पाउने छन्।

चैत ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्