हत्या आरोप लागेका ७ जनाविरुद्ध २ वर्ष कारागार सजाय आदेश

मोरङ – विराटनगरमा ३ वर्षअघि हत्या आरोप लागेका ७ जनाविरुद्ध मोरङ जिल्ला अदालतले २ वर्ष कारागार सजाय आदेश गरेको छ।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जिल्ला न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपीमध्ये ७ जनाविरुद्ध कारागार सजाय भएको हो।

यादवको हत्या आरोपमा अभियुक्त १० जनाविरुद्ध किटानी जाहेरी रहेको छ। कारागार सजायमा तीन जना तत्कालीन वडाध्यक्षसमेत छन्।
०७६ साल जेठमा यादवविरुद्ध भएको कुटपिटको घटनामा विराटनगर–१४ का तत्कालीन वडाध्यक्ष बलदेव यादव, विराटनगर–१८ का तत्कालीन वडाध्यक्ष सञ्जय साह, जहदा गाउँपालिका–१ का तत्कालीन वडाध्यक्ष प्रदीप यादवसँगै दीपेश यादव, भोला यादव, विरेश यादव, विन्देश्वर यादवलाई २ वर्षको कारागार सजाय भएको अदालतका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।

घटनाका आरोपित दिनेशकुमार यादव, रविनकुमार यादव, र शम्भुप्रसाद यादव फरार रहेको हँुदा मुद्दा मुलतवीमा रहेको उनले जानकारी दिए।
जिल्ला न्यायाधीश बरालको इजलासले यादव हत्या प्रकरणको दोषीलाई कारागारसहित जनही २० हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यसैगरी, मृतकका परिवारलाई प्रत्येकले १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिबापत रकम उपलब्ध गराउनुपर्ने आदेश अदालतले गरेको छ।
यद्यपि, घटनामा १० जनाको मनसाय हत्या गर्ने नदेखिएको र अस्पतालमा उपचारका लागि भर्ना भएको करिब १ महिनापछि यादवको मृत्यु भएको हुँदा अदालतले ७ जनालाई २ वर्ष कारागार सजाय तोकेको स्रोतको भनाइ छ।

समानन्दका छोरा राजेश यादवको विवाहका लागि जहदाँ गाउँपालिकाको एक युवतीसँग पारिवारिक कुरा चल्दै गर्दा घटना भएको थियो। तर, विवाहका लागि राजेशले परिवारविरुद्ध असहमति जनाउँदै आएका थिए। सोही विषयमा छलफलका लागि विराटनगर–१४ का तत्कालीन वडाध्यक्ष बलदेव यादवको घरमा पञ्चायती बसेको अवस्थामा समानन्दमाथि कुटपिट भएको मृतकको परिवारले जनाएका थिए।

छलफलमा राजेशले विवाहका लागि मञ्जुरी नदिएपछि पञ्चायतीमा केटी पक्ष र वडाध्यक्षहरूले विवाहका लागि दबाव दिएका थिए। सोही क्रममा विवाद बढ्दै गर्दा राजेशका बुबा समानन्द यादवमाथि कुटपिट भएको थियो। २०७६ जेठ ३२ गते भएको सो घटनामा घाइते यादवलाई तत्काल विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो।

यादवको उपचारका क्रममा असार २६ गते मृत्यु भएको थियो। त्यसपछि मृतक यादवका छोरा राजेश यादवले घटनामा संलग्न १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

 

चैत ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्