खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ – विशेष अदालतले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र ९ कम्पनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।

खानी तथा चुनढुंगा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजश्व हिनामिना गरेको आरोपमा नौवटा सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको आरोपमा घिमिरेसहितका कर्मचारीहरुमाथि अख्तियारले मुद्दा दर्ता गरेको थियो।

मुद्दा दायर भएका कर्मचारीमा भू–गर्भ विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारी थिए।

यसैगरी, सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगड, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

चैत ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्