सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओइसिडीको प्रक्षेपण

अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ।
चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो। तर उक्त संगठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ।
ओइसिडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ। गत नोभेम्बरमा गरिएको प्रक्षेपणमा यो दर २.२ प्रतिशत हुने अनुमान गरिएको थियो।
सन् २०२२ मा देखिएको ३.२ प्रतिशतको विस्तारको तुलनामा यो अझै न्यून रहेको पेरिसस्थित ओईसीडीले ‘ए फ्रेजाइल रिकभरी’ शीर्षकको आफ्नो अद्यावधिक आर्थिक मूल्याङ्कनमा उल्लेख गरेको छ।
ओइसिडीले आफ्नो अन्तरिम आर्थिक मूल्यांकन रिपोर्टमा भनेको छ, ‘व्यापार र उपभोक्ताको भावनामा सुधार आउन थालेको, खाद्यान्न र ऊर्जाको मूल्य मा गिरावट आएको र चीनको बजार पूर्णरूपमा खुल्न थालेपछि थप सकारात्मक सङ्केतहरू देखिन थालेका छन्।’
उक्त प्रतिवेदन अनुसार सुधारको अवस्था अझै कमजोर रहेको र जोखिमहरू केही हदसम्म सन्तुलित भएका तर नकारात्मक पक्षमा झुकेका छन्। यसलाई पुष्टि गर्न युक्रेनमा युद्धको क्रममा अनिश्चितता, ऊर्जा बजारमा नयाँ दबाबको जोखिम र बढ्दो ब्याज दरको प्रभावलाई उद्धृत गरिएको छ।
दशकौंदेखिको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्, तर बढ्दो ऋण लागतले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने डर विश्व बजारमा व्याप्त छ।
‘कडा मौद्रिक नीतिको प्रभावका संकतहरू संयुक्त राज्य अमेरिकाका क्षेत्रीय बैंकहरूसहित बैंकिङ क्षेत्रका केही भागहरूमा देखिन थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
गत साता सिलिकन भ्याली बैंकले उच्च दरका कारण मूल्य घटाएको ऋणपत्रमा १.८ अर्ब अमेरिकी डलरको नोक्सानीको सन्दर्भ सार्वजनिक भएपछि मौद्रिक कडाइलाई जोडेर अध्ययन गरिएको हो।