सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक राष्ट्रिय विषय होः प्रमुख सचेतक लेखक

काठमाडौँ – कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषयवस्तु नरहेको बताएका छन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग शनिवार गरेको छलफलपछि सञ्चारकर्मीसँग उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्र नभई राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दल मिलेर अघि बढाउन आवश्यक रहेको बताए। उनले बैठकमा संसदलाई बढीभन्दा बढी बिजनेस दिनुपर्नेमा छलफल भएको बताए।

उनले आइतबार बस्ने संसदको बैठकमा बेपत्ता, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक प्रस्तुत हुने बताए।

प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्नेमा जोड दिएकाले सोहीअनुसार गठबन्धन अघि बढ्ने बताए। उनले गठबन्धनको विकल्प नरहेको जिकिर गरे।

 

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्