विधवाले गाउनै नमिल्ने चैतलो गीत

सिमकोट – घना बस्ती र चैतलो पर्वमा विधवा महिलाले गीत गाउन नपाउने गरेको पाइएको छ। विधवाले गीत गाउन जाँदा नराम्रो हुन्छ भन्ने सामाजिक मान्यता रहेका कारण यस्ता महिलाले चैतलो पर्वमा गीत गाउन नजाने गरेका हुन्।

सिमकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका ठेहे गाउँका स्थानीय विजय भण्डारीले महिला विधवा हुनेबित्तिकै चैतलो पर्वमा गीत गाउन जान नपाउने मान्यता रहेको बताए।

यस्ता महिला जति रमाइलो मान्ने र गीत गाउन जान्ने भए पनि उनीहरूका लागि चैतलोमा गीत गाउन सामाजिक प्रतिबन्द लगाइएको हुन्छ।

उनले अघिल्लो पटक चैतलोमा गीत गाउन गएकी महिला अर्को वर्ष श्रीमान् खसेपछि त्यसपछि भने कहिल्यै चैतलो खेल्न जान नपाउने जानकारी दिए।
रुढीवादी मान्यताका कारण श्रीमान्को मृत्युपछि महिलाले चैतलो पर्वमा गीत गाउन वञ्चित हुनुुपरेको हो। अरू महिलाले परम्परागत पहिरन लगाएर गाएको हेर्न मात्र पाउँछन् उनीहरू। विधवामा गीत गाउने सीप भए अरुले सिक्न भने पाउँछन्। यस्तो विभेद हुने गरेको ठेहेका अर्का स्थानीय दल भण्डारीले बताए।

विधवालाई नराम्रो नजरले हेरिने भएकाले समाजले नै उनीहरू गीत गाउन गए राम्रो नमान्ने उनको भनाइ छ। ठेहे गाउँमा यस्ता विधवा सयभन्दा बढी छन्। यस पर्वमा महिला उमेर नभएर नाताअनुुसार लाइनमा बसेर गीत गाउने गर्छन्।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्