सहिद स्मारक ए डिभिजन लिगः पाँचौँ खेलमा पुलिसलाई पहिलो अंक

काठमाडाैँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले जारी सिजन पहिलो अङ्क प्राप्त गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम (एनआरटी) सँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको हो।

रोमाञ्चक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा एनआरटीले अग्रता बनाएको थियो। सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेका सञ्जीब विष्टले ६४ औं मिनेटमा एनआरटीलाई १–० को अग्रता दिलाए। एनआरटी र पुलिसका डिफेन्डरमा एक आपसमा डिफ्लेक्ट हुन पुगेको बललाई पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले क्लियर गर्न नसक्दा सञ्जीवले सहज गोल गरेका थिए। तर पुलिस ७५ औं मिनेटमा खेलमा फर्कियो। प्रताप गुरुङले गोल फर्काउँदै टिमलाई लगातार पाँचौ हारबाट जोगाउन सफल रहे।

यो खेल अघि पुलिसले लगातार चार खेलमा हार भोगेको थियो। पहिलो खेलमा चर्च ब्वाइजसँग २–१ ले हारेको पुलिस दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० तथा तेस्रो खेलमा संकटासँग ३–० ले हारेको थियो। अघिल्लो खेलमा मछिन्द्रसँग २(१ ले पराजित हुन पुगेको पुलिस शनिबारको खेलमा भने हारबाट जोगियो।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्