‘वात्स्यायन’ को पोखरामा अभिनन्दन

पोखरा – दुर्गा बराल ‘वात्स्यायन’ नदीपुरस्थित मामाघरमा बसेर तत्कालिन पृथ्वीनारायण क्याम्पसमा बायोलोजी लिएर साइन्स पढ्थे। उनलाई एक दिन गुरुआमा एलियामा जोनले भनिन्, ‘यति राम्रो आर्ट गर्ने मान्छे किन साइन्स लिएर पढेको ? फ्रान्सबाट स्कलरसिप आउँछ कला विषयमा अध्ययन गर्न, पाकिस्तानले पनि खुलाएको हुन्छ, अप्लाइ गर।’

उनको रुचि कला पढ्ने नै थियो। कलामा उनले दिल थियो। त्यसैले त उनलाई एलियामा जोनको सुझावपछि कला पढ्न काठमाडौँ जाने हुटहुटी रोकिएन। ‘कुन उपायले काठमाडौँ जाने भनेर छटपटी मभित्र पैदा हुन्थ्यो। त्यो बेला तेर्सापट्टीमा मलेरिया, औंला उन्मुलनको अफिस थियो। त्यहाँ स्टोर किपरको काम गरेर केही पैसा जम्म गरें। त्यही पैसा लिएर म काठमाडौँ पढ्न गएँ’, शनिबार उनी फ्ल्यासब्याक भए।

कला पढ्न काठमाडौँ छिरेका उनका संघर्षका दिन त्यसपछि सुरु भए। काठमाडौँबाट भौतारिँदै दिल्लीसम्म पुगे। दिल्लीबाट काठमाडौँ फर्केर जनक शिक्षामा किताबमा चित्र बनाउने कामसमेत गरे।

 गुरुआमाको सुझावले साइन्स पढ्न छाडेर चित्रकलामा संघर्ष थालेका दुर्गा बराल ‘वात्स्यायन’ ले पोखरालाई पानी रङको विद्यालय अर्थात् ‘स्कुल अफ वाटर कलर’का रूपमा परिचित गराउन सफल छन्।

पारदर्शी, शीतल र शान्त भएकै कारण चित्रकलामा लोप्रिय मानिने पानी रङको विद्यालयको रुपमा पोखरालाई चिनाएका वरिष्ठ कलाकार बराल नेपाली व्यंग्यचित्रकारितमा पनि बादशाह मानिन्छन्।

उनै वरिष्ठ कलाकार ‘वात्स्यायन’ ८० वर्ष पूरा गरेर ८१ वर्ष प्रवेश गरेको अवसरमा शनिबार पोखरामा भव्य रथारोहण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा यहाँका क्रियाशील दर्जनभन्दा बढी साहित्यिक तथा वाङ्मयिक संस्थाले उनको नागरिक अभिनन्दन तथा रथारोहण गरेका हुन्।
नदीपुरस्थित बराल निवासबाट निकालिएको रथारोहण नदीपुर, बगर, पीएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै विन्ध्यबासिनी मन्दिरसम्म पुग्यो। विन्ध्यबासिनी मन्दिरमा उनको नागरिक अभिनन्दन गरिएको छ। बरालको रथारोहणमा कलाप्रेमी पोखरेलीको उपस्थिति थियो।

नेपालको समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्न बराल माहिर बराल विक्रम संंवत १९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा महानगरपालिका–१३) मा जन्मिएका हुन्। ३० को दशकमा बरालले पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ भित्रएका थिए।
वात्स्यानले आफ्नो सारा जीवन नै कलाको ध्यानमा बिताएको पोखरेली साहित्यकार बताउँछन्। ‘उहाँ कलाको माध्यमबाट साहित्यिक गतिविधिहरू गर्नका निम्ति हामीलाई प्रोत्साहित गर्ने अभिभावक हुनुहुन्छ’, कवि तिर्थ श्रेष्ठ भन्छन्, ‘नेपाली कलामा दुर्गा दाईको पर्दापण अगाडि कतिपय दृश्यचित्रका कला थिए, हिमालका कला भए। कलकलकल बगेका खोलाका कला भए। गुलाफका फुलहरू थिए। मन्दिरहरू थिए। जंगलको धुन थियो। र, उहाँको नेपाली कलामा पदार्पणसँगै मान्छे जीवन कलामा झ्याप्पै देखा पर्न थाल्यो।’

साहित्यकार सरुभक्त श्रेष्ठ वात्स्यानले जीवनभर कला क्षेत्रमा साधना गरेको बताउँछन्। श्रेष्ठले जीवनभर साधना गरेर ऋषित्व प्राप्त गरेको विम्बको रुपमा वात्स्यानलाई चित्रण गरे। ‘उहाँको अत्यन्त संघर्षमय जीवनको कथाबाट हामीले धेरै प्रेरण प्राप्त गर्न सक्छौं जस्तो लाग्छ’, उनले भने। वात्स्यान नेपाली व्यंग्यचित्रकारिताको बादशाह भएको उनले बताए।

बरालका व्यक्तिगत तथा सामूहिक गरी दर्जन बढी चित्रकला, कार्टुन प्रदर्शन भइसकेका छन्। नेपालको सबैभन्दा प्रख्यात प्रवल गोरखा दक्षिण बाहु चौथो, जगदम्बा श्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जन बढी पुरस्कार प्राप्त गरेका छन्।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्