मैत्रीपूर्ण महिला क्रिकेटः विराटनगर क्रिकेट क्लबले अल इण्डियालाई ९ विकेटले हरायो

मोरङ – नेपाल र भारतको महिला क्रिकेट टोलीबीचको पहिलो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालको विराटनगर क्रिकेट क्लब एण्ड एकेडमीले जित निकालेको छ।

शनिबार विराटनगरस्थित मेरिबलोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराटनगरको टोलीले भारतको अल इण्डिया महिला टी–२० टीमलाई ९ विकेटले पराजित गर्दै तीन वटा खेलको टी–२० सिरिजमा सुखद सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ गरेको अल इण्डियाको टोलीले १७ ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको सामान्य योगफल बनाएको थियो। जसमा कप्तान ऋतु भोस्लेले २० रन बनाएकी थिइन्।

बलिङतर्फ विराटनगरकी अस्मिता कर्माचार्यले ४ ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिइन्।

जवाफी ब्याटिङ गरेको विराटनगरले १० ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। विराटनगरको टोली बीसीसीएका लागि विकेट किपर काजल श्रेष्ठले अविजित ३७ र सम्झना खड्काले २१ रन बनाइन्।

भारतीय टोलीका लागि मिनाक्षी कवदालले एक विकेटका रुपमा विराटनगरकी अफ्सरा बेगमको विकेट लिएकी थिइन्। खेलमा ४ विकेट लिन सफल विराटनगरकी अस्मिता कर्मचार्य प्लेयर अफ द म्याच घोषित भइन्।

तीन वटा टी–२० र एक एकदिवसीय खेलको सिरिजको आयोजना गरिरहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार सिरिज सम्पन्न गर्नका लागि करिब २ लाख रुपैयाँ खर्च हुनेछ। सिरिजमा विजेतासहित उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट किपरले पुरस्कृत हुने श्रेष्ठले बताए।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्