सहिद स्मारक ‘ए’ डिभिजन लिगः अपराजित मनाङको तेस्रो जित

काठमाडौँ – आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित हासिल गर्दै लिग अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार साँझ दशरथ रङ्गशालामा भएको पाँचौँ चरणको खेलमा मनाङले विभागीय क्लब एपीएफलाई २–१ ले पराजित गरेको हो।
मनाङविरुद्ध एपीएफले पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा अग्रता जोगाउन विभागीय क्लब असफल हुँदा मनाङले लिगमा ५ खेलबाट ११ अङ्क बनाउन सफल भयो। एपीएफले ३४ औँ मिनेटमा अर्मान्ड बेडमको गोलमा अग्रता लियो। नवीन लामाको क्रसमा अर्मान्डले हेड गर्दै विभागीय क्लबलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा खेलमा फर्किएको मनाङका लागि ५३ औँ मिनेटमा कमल थापाले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले सुमित श्रेष्ठको क्रसलाई आकर्षक गोलमा परिणत गरेका थिए। मनाङले खेलमा अग्रता बनाउने क्रममा ७२ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उज्वेकिस्तानका स्टार स्ट्राइकर साइदजामोल दाभ्लात्जोनोभले पेनाल्टीबाहिरबाट पहिलो बार च्यापेर टप कर्नरमा गरेको प्रहार गोलमा परिणत भएको थियो। जितसँगै मनाङ ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। समान अङ्क भए पनि चर्च ब्वाइज गोल अन्तरमा पछि रहँदै तेस्रो स्थानमा धकेलिएको छ।