दशरथ रंगशालामा क्रिकेट खेलाडीलाई सम्मान

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लव र एपीएफ क्लबबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो।
खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए। नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोर्टस्ले जनाएको छ।
आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङसहित अन्य पदाधिकारी तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतले खेलाडीलाई सम्मान गरेका हुन्।
एमडीएसीले मनाङ र एपीएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ।