महाकाली बेच्नेलाई कारबाही गर्न दुर्गा प्रसाईंको प्रस्ताव

दुर्गा प्रसाईं। फाइल तस्बिर।

काठमाडौँ – ऋण नतिर्ने अभियान चलाइरहेका दुर्गा प्रसाईंले महाकाली बेच्नेलाई कारबाही गर्न प्रस्ताव गरेका छन्।

शनिबार हेटौंडामा आयोजित कार्यक्रममा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महाकाली बेच्नेलाई कारबाही गरौँ भन्ने अभिव्यक्ति दिएका हुन्।

ऋण नतिर्ने अभियानसँगै संघीयता, धर्मनिरपेक्षता र राजसंस्थाको पक्षमा खुलेका प्रसाईंले देशका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएका छन्।

उनले हेटौँडाको कार्यक्रममा ओलीलाई हजुरबुबा सम्बोधन गर्दै भने, ‘हजुरबुबा महाकाली बेच्नेलाई जेल हालौँ। कल कारखाना बेच्नेलाई पनि हालौँ। अनि युएन पार्क बेच्नेलाई पनि जेलमा पठाऔँ।’

ऋण उठाउन आउने बैंक तथा सहकारीका प्रतिनिधिलाई कालोमोसो दल्ने दस्ता बनाएका प्रसाईंका समर्थकमाथि प्रहरीले निगरानी गरेको छ।

कालोमोसो दस्ताका केहीलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रसाईंले ओलीमाथि प्रहार गरेका हुन्। महाकाली सन्धि पारित गराउन विशेष भूमिका खेलेका ओलीलाई नदी नै बेचेको आरोप कतिपयले लगाउने गरेका छन्।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्