सगरमाथा युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

मोरङ – साविक विजेता सगरमाथा युथ क्लब, मोरङ सुनसरीको इटहरीमा सुरु भएको १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबारबाट इटहरी रंगशालामा सुरु भएको गोल्डकपको पहिलो खेलमा क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सगरमाथा अन्तिम चारमा प्रवेश गरेको हो।

निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको खेलमा दुवै टोली खेलअवधिभर गोल गर्न असफल भएका थिए। ८० मिनेटको खेल अन्तर्गत पहिलो हाफमा साविक विजेता सगरमाथाका एमसुके, शक्ति राई, कप्तान महिन्द्र कार्कीले गोलको प्रयास गरेका थिए। बललाई गोल पोष्टतर्फको स्पष्ट दिशा दिन नसक्दा टोली गोल गर्न असफल भएको थियो।

त्यसैगरि क्यामरुनी टोलीको गोलकिपर एलानले पनि सगरमाथाका खेलाडीको प्रहार निस्तेज बनाएका थिए। शारीरिक रुपमा बलियो देखिएको क्यामरुनी टोलीले समेत केही राम्रा अवसर पाएको थियो। खेलको ३० औँ मिनेटमा शावाले गरेको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो।

जारी सिजनमा कोशी प्रदेशको धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि चुमेर हौसिएको क्यामरुनी टोलीको सन्तुलित मध्यपंक्तिले गोलका लागि जो अल्डो, रिचर्ड विल्सन, यान्निक अवोनालाई गोलका लागि अवसर बनाइदिएका थियो।

सगरमाथाको रक्षापंक्ति र गोलकिपर देव लिम्बूको सुझबुझले खेल गोलरहित बराबरीमा टुंगिएको थियो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो।

खेलका रेफ्री इन्स्पेक्टर बलिदान राईका अनुसार टाइब्रेकरमा सगरमाथाका लागि अभिषेक वर्मा, एमसुके, राजीव लोप्चान र अभिषेक लिम्बूले गोल गरे। त्यसैगरि, एभिनियरका लागि गिनी, प्रिन्स, यान्निक ओवानाले गोल गरेका थिए। एभिनियरका लागि शाबा र जो अल्डोको प्रहार भने गोलमा परिणत हुन नसक्दा खेल सगरमाथाको पोल्टामा गएको हो।

आठ वटा टोलीको सहभागिता रहेको गोल्डकप अन्तर्गत आइतबार गोल्डकप आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ।

आयोजक पक्षका कोविदजंग कार्कीका अनुसार चैत्र ११ गते हुने फाइनलमा विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ हात पार्नेछ।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्