चेल्सी एभर्टनसँग रोकिँदा टोटेनह्यामको पनि हाइस्कोरिङ बराबरी

इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा बराबरीमा रोक्दै एभर्टनले रेलिगेसन क्षेत्रसँग २ अंकले अग्रता बढाउन सफल भएको छ। चेल्सीविरुद्ध एलिस सिम्सले अन्तिम मिनेट बाँकी रहँदा बराबरी गोल फर्काउँदा खेल २-२ को अवस्थाम सकिएको थियो।
त्यस्तै, चौंथो स्थानको टोटेनह्यामले लिगको पुछारको साउथहेम्टनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। टोटेनह्यामले ३-१ को अग्रता जोगाउन असफल भएको थियो।
पहिलो हाफको इन्जुरी समयमा पेड्रो पोरोरोको गोलमार्फत् अग्रता लिएको थियो। तर दोस्रो हाफ सुरु भएको ४७ सेकेन्डमा नै चे आदम्सले बराबरी गोल गरेका थिए। तर हेरी केनेले ६५ औँ मिनेटमा २-१ को अग्रता दिलाउँदा इभान पेरिसिकले ७४ औँ मिनेटमा टिमलाई ३-१ को अवस्थामा पुर्याए।
तर ७७ औँ मिनेटमा वालकोटले साउथहेम्टनलाई खेलमा फर्काउँदा इन्जुरी समयमा वार्ड प्राउजले पेनाल्टीमार्फत् टिमका लागि ३-३ को बराबरी गोल गरेका थिए।
त्यस्तै, स्टामफोर्ड ब्रिजमा घरेलु समर्थकमाझ पहिलो हाफ गोलरहित बराबरी भए पनि चेल्सीले ५२ औँ मिनेटमा जोओ फेलिक्सको गोलमार्फत् अग्रता लिएको थियो। तर ६९ औँ मिनेटमा अब्दुलाए डोकाउरेले बराबरी गोल फर्काएका थिए।
तर खेलमा पुन: अग्रता बनाउने क्रममा ७६ औँ मिनेटा चेल्सीले पेनाल्टी पाएको थियो। जसलाई काई हाभर्टजले सदुपयोग गर्दै टिमलाई २-१ को अग्रता दिलाए। तर एभर्टनका लागि सब्सटिच्युट खेलाडी एलिस सिम्सले गोल गर्दै टिमका लागि महत्त्वपूर्ण एक अंक खोस्न सफल भए।
एभर्टन बराबरीपछि २८ खेलबाट २६ अंक बनाएर १५ औँ स्थानमा रहेको छ। चेल्सीको २७ खेलबाट ३८ अंक जोडेर १० औँ स्थानमा रहेको छ। त्यस्तै, बराबरीका बाबजुत टोटेनह्याम २८ खेलबाट ४९ अंकका साथ चौंथो स्थानमा कायम छ।
तर दुई खेल कम खेलेको न्युक्यासल भन्दा २ अंकको मात्र अग्रता बनाउन सफल भएको छ। बराबरीपछि पनि साउथहेम्टन भने २३ अंकका साथ अंक तालिकाको पुछारमा छ।
शनिबार नै भएका अन्य खेलमा एस्टन भिल्लालाले बोर्नेमाउथलाई ३-० तथा लिड्सले वल्भेसलाई ४-२ गोल अन्तरले पराजित गर्दे लेस्टर सिटी भने ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकियो।