महेन्द्र मोरङमा स्ववियु निर्वाचन सुरु, सुकुना बहुमुखी क्याम्पसमा भोलि हुने

विराटनगर- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढेको छ।

करिब १४ वर्षका अन्तरालमा हुन गइरहेको निर्वाचनका लागि बिहानैबाट क्याम्पसमा विद्यार्थीको बाक्लो उपस्थिति रहेको छ।

२१ सदस्यीय कार्यसमितिका लागि विद्यार्थी संगठनले प्रतिनिधि चयनमा ढिलाइ गरेपछि मतदान प्रक्रिया केहीसमय पछि धकेलिएको छ।

क्याम्पस प्रमुख बाबुराम तिमिल्सेनाले बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कार्यक्रम तय भए पनि विद्यार्थी संगठनले प्रतिनिधि पठाउन ढिला गरेकाे बताए।

‘बिहानैबाट मतदानका लागि तयारी अवस्था थियो। तर विद्यार्थी संगठनहरूले प्रतिनिधि पठाउन ढिलाइ गरेपछि केही समय विलम्ब भएको हो। अब प्रतिनिधि आउने क्रम सुरु भएको छ। सोहीअनुसार निर्वाचन सुरु हुनेछ’, उनले भने।

५ हजार ९४२ विद्यार्थी रहेको क्याम्पसमा सहज रूपमा निर्वाचन गर्नका लागि विभिन्न स्थानमा १४ वटा बुथ बनाइएको क्याम्पस प्रमुख तिमिल्सेनाले जानकारी दिए।

उनका अनुसार प्रत्येक बुथमा करिब ५ सयको संख्यामा मतदान गराउनसक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीको उपस्थिति बाक्लो रहेको छ।

निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्षमा जसवन्त पौडेल, सचिवमा पूजा विश्वास, कोषाध्यक्षमा स्वस्तिक बोहोराको उम्मेदवारी रहेको छ।

त्यसैगरी, अनेरास्ववियुतर्फ अध्यक्षमा नवीन पहाडी, सचिवमा सनिम ठकुरी, कोषाध्यक्षमा आरोग्य थापा रहेका छन्। त्यसैगरी, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनको संयुक्त उम्मेदवारमा अध्यक्षतर्फ रोहित यादव, सचिवमा आशिका लम्साल, र कोषाध्यक्षमा राकेश यादव रहेका छन्।

क्याम्पसमा शनिबार अनेरास्ववियुका विद्यार्थीले तालाबन्दी गरेका थिए। यद्यपि, दिनभरको छलफलपछि अनेरास्ववियु निर्वाचनका लागि तयार भएको थियो।

अर्कोतर्फ, विराटनगर नर्सिङ क्याम्पसमा पनि नेविसंघले लगाएको तालाबन्दी शनिबार बेलुका खोलेको थियो। सो क्याम्पसमा समेत निर्वाचन सुरु हुने प्रक्रियामा रहेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा भने निर्वाचन सोमबार हुने बताइएको छ। क्याम्पस प्रमुख चन्द्रमणि राईले विशेष कारण आइतबार हुने निर्वाचनलाई सोमबार सारिएको जानकारी दिए।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्