काठमाडाैँ- त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ।

आइतबार बिहान ८ बजेबाट नै काठमाडौँ उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्पसहरूमा मतदान सुरु भएको हो।

स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो। ६० आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ।

काठमाडौँको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरूमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन।

काठमाडौँका शंकरदेव क्याम्पस, ल क्याम्पस, पद्मकन्या क्याम्पसहरूमा मतदान सुरु भएको छ।

बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ। प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन।

यस पटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसहरूमा मतदान नै सुरु भइसकेको हो। विद्यार्थीहरू स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामवद्ध भएको देख्न सकिन्छ।

स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरूमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

हेर्नूहाेस् देश सञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरू: