सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताए।

उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार बिस्तार हुने बताए। उनले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको बताए।

प्रवक्ता महतले आज बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने पनि बताए।

‘चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भन्नुभएको छ, उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। त्यही किसिमको निर्देशन कार्य सम्पादन समितिले संसदीय दललाई निर्देशन गर्नेछ। संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित हामी सरकारमा सहभागी हुँदैछौँ’, उनले भने, ‘नेपाली काँग्रेस पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ। यस बाहेक उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको छ। आजकै संसद बैठकबाट सप्रतिपक्षबाट सत्तापक्षमा जाने निर्णय भएको छ। विश्वासको मत लिएपछि सरकारमा जाने हो। नेतृत्वले सुझाव सल्लाह लिएर कसको नेतृत्वमा जाने भन्ने निर्णय गर्नेछ। मन्त्रीपरिषद्मा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर जाने निर्णय भएको छ ।’

प्रवक्ता महतले बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको पनि बताए‍।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्