प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधान‍मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार  पार्टी कार्यालय, बसुन्धारामा सम्पन्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

गत पुस १० गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त भइ ११ पद तथा गोपनीयताको शपथ लिएका दाहालले तत्कालीन सत्ता गठबन्धन भत्किएपछि भोलि सोमबार पुन: संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।

दाहालले यसअघि पनि पुस २६ गते विश्वासको मत लिएका थिए। त्यस दिन प्रतिनिधिसभामा उपस्थित २७० सांसद मध्ये २६८ जनाको मत पाएका थिए। तर फागुन २५ गते भएको राष्ट्रपति चुनावसँगै सत्ता गठबन्धनमा आएको हेरफरका कारण दाहालले संविधानको धारा १०० (२) अनुसार पुन:विश्वासको मत लिन लागेका हुन।

उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गरेको दलले फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्