‘पहिला-पहिला फिल्म फ्लप नै हुन्थेन किनभने मनोरञ्जनको अर्को विकल्प थिएन’

सिनेमा हलमा जसको फिल्म लागे पनि चल्थ्यो। दर्शक हलमै गएर फिल्म हेर्थे। दर्शकको बाक्लो भीडले कुर्चीको अभावका कारण पनि भुइँमा बसेर फिल्म हेरिन्थ्यो। दर्शकमा फिल्मप्रतिको क्रेज अनौठो थियो। भीडभाडमा चेपिएर पसिनाले निथ्रुक्क हुँदा पनि चाउचाउको गत्ता हम्किँदै फिल्म हेरिन्थ्यो। त्यो जमाना फिल्म हलमा गएर फिल्म हेर्नुको विकल्प थिएन।

चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को तेस्रो दिन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा ‘हेर्दा हेर्दै कहाँ पुगियो’ विषयक सेसनमा निर्माता तथा निर्देशक अशोक शर्माले भने, ‘त्यो समय फिल्म भन्ने जिनिस फ्लप नै हुन्थेन।’

किन फिल्म फ्लप हुन्थेन त? शर्मा भन्छन्, ‘त्यो समय फिल्म नै कम बन्थ्यो। रेडियो र नाटकमा नै बढी काम हुन्थ्यो। अलिअलि हिन्दी फिल्मको प्रभाव थियो नेपालमा र थोरै मात्रामा नेपाली फिल्म पनि बन्दै थिए। त्यसैले मनोरञ्जनको अरू विकल्प नभएकाले दर्शकमा फिल्मप्रति अद्भूत क्रेज थियो।’

ती दिनताका आफ्नो प्रतिभा देखाउन नाटक र रेडियो मात्रै प्लेटफर्म थियो। अहिले सामाजिक सञ्जाल र इन्टरनेटको सहारामा मान्छेले आफ्नो प्रतिभा देखाउन सक्छन्। अहिले त टिकटिकले नै भाइरल बनाइदिन्छ।

‘पहिला थोरै फिल्म बन्थे। त्यसबेला कोही स्टार थिएन। अहिले धेरै फिल्म बन्छन् र स्टार पनि धेरै छन्। त्यसकारण सायद दर्शकले पनि स्टारहरूको अपेक्षा गर्छन्’, शर्माले भने, ‘पहिला आफ्नो प्रतिभा देखाउन फिल्म खेल्नुपर्थ्याे। टेलिफिल्म खेल्नु पर्थ्याे। अहिले आफ्नै फोनको माध्यमबाट आफ्नो प्रतिभा संसार अगाडि रिलिज गर्न पाइन्छ। जस्तो टिकटक।’

पहिले कुनै पनि फिल्म फ्लप हुँँदैनथिए भन्ने सन्दर्भमा अर्की वक्ता तथा अभिनेत्री स्वस्तिमा खड्काले भने आफ्नो अनुभव यसरी सुनाइन्, ‘अहिले ३ सय मुभी एउटै खाले बन्छन्। र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ। त्यसकारण दर्शकलाई बानी बनाउन अप्ठ्यारो परेको हो। तर, क्रिएटिभ फिल्मलाई दर्शकले माया गर्छन् अहिले पनि।

अभिनेत्री स्वस्तिमा खड्का।

‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीलाई फिल्मको क्रेज कहिल्यै घट्दैन जस्तो लाग्छ। उनका अनुसार आफ्नै आँखा अगाडि फरक पात्र, जीवन र समाज देख्न पाइने हुनाले मान्छेमा क्रेज रहेको हो। र रहिरहन्छ पनि। अनि सिनेमा हलको पनि क्रेज सकिँदैन। किनभने मोबाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन्। साथै आफू दर्शक भएर फिल्म हेर्दा केही पनि सिक्न नसकेको अनुभव बिडारी सुनाउँछन्, ‘नेपाली फिल्म हेरेर मैले सिकेको कुरा चाहिँ हल्ला गरेर फिल्म हेर्न हो। त्यसबाहेक कमै कुरा सिकेको छु।’

बिडारी नेपाली दर्शकको सोंच अझै संकुचित भएका कारण पनि नेपाली फिल्म फराकिलो बन्न नसकेको बुझाइ सुनाउँछन्, ‘फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला। तर उनीहरू दीपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन्। तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन्।’

नेपाली दर्शक र मेकरमा कुन पावरफूल भन्ने प्रश्नमा बिडारीले भने, ‘मेकरले जे दियो त्यही लिने हो तर मेकरले आफ्नो रूट बनाउनु पर्छ। रूट बनाउन सकिएन भने कहीं पुग्न सकिँदैन।’ कुराकानीकै क्रममा आजको कलाकार हलुका हुँदै गएकोे सन्दर्भ पनि जोडियो। शर्माले आफ्नो दुई चलचित्र ‘जय भोले’ र ‘रातो टीका निधारमा’ जस्ता फिल्मको उदाहारण दिँदै थपे, ‘अहिले प्रविधिले फट्को मारेको समय हो। त्यसलै मैले दुई चलचित्रमा इन्टरनेटमा परिचित भएका अनुहारसँग काम गरेको थिएँ।’

तर आजको समयमा रातारात स्टार हुने भूतले मानिसलाई खेदाइरहेको विकृतिप्रति फरक सुनिए। कलाकारले दर्शकसँग धैरै क्लोज हुनुहुँदैन। नजिक भएपछि कलाकारको आकर्षण घट्न सक्छ।

‘पहिला दर्शक र स्टारहरूको भेट फिल्म चलेको ५१ दिने कार्यक्रमहरूमा मात्र हुन्थ्यो। अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्छ। कुनै न कुनै माध्यमले सम्पर्क गर्छ’, शर्माले भने, ‘स्टार भनेको धेरै हलुका हुनुहुँदैन। त्यसकारण दर्शकसँग प्रत्यक्ष सम्पर्कमा धेरै रहनु हुँदैन।’

खड्का शर्माको कुरामा सहमत भइन्। ‘कलाकारको महत्त्व दर्शकसँग भेटेर घट्छ भन्ने लाग्दैन। अहिले त सामाजिक सञ्जालले सबैलाई एक बनाएको छ’, खड्काले भनिन्, ‘अशोक दाइको फिल्म चलेको दुई दिनपछि नै हलमा गइदिनु पर्‍याे। दर्शकसँग नजिक हुनुपर्‍याे भन्नु भएको थियो। कलाकार दर्शकसँग नजिक हुन नचाहे पनि मेकरले हलसम्म पुर्‍‍याउने काम गर्दै आएका छन्।’

उनका अनुसार दर्शकले कलाकार हेरेर भन्दा पनि विषयवस्तु र कलाकारको अभिनय हेर्नका लागि हलसम्म जाने हो। पहिले-पहिले राम्रा भनिएका कलाकारको फिल्म किन चलेनन्? के दर्शकले ती कलाकारलाई घरिघरी भेटेर देखेर नचलेको हो या होइन? ‘दर्शकले कलाकारलाई चिया पसलमा भेटे पनि बोले पनि राम्रो फिल्म चल्छ। कलाकार हलुका भएर नचल्ने भन्ने हुँदैन’, उनले भनिन्।

दर्शकको मनोविज्ञान बुझिनसक्नु छ। कुन फिल्म मन पराउँछन् थाहा नै हुँदैन। तर नेपाली दर्शकले कि फलानोको फिल्म हेर्छ भनेर मुड बनाएको हुन्छ कि माउथ पब्लिसिटीका कारण फिल्म हेर्छन्। शर्माका अनुसार हेरिसकेकाले ‘राम्रो छ राम्रो’ भनेर भनिदिएपछि मात्रै फिल्म हेर्न अन्य दर्शक पुग्छन्।’

मध्यस्तकर्ता सुरज सुवेदीले अहिलेको सिनेमाले दर्शक नपाउनुको कारण युट्यब प्लेटफर्मका कारण हो भन्ने प्रश्नमा अभिनेत्री खड्काले भनिन्, ‘नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिनँ। हलमा कम भए पनि युट्युबमा प्रशस्तै भ्युअर्स छन्। हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ। दर्शक थिएनन् भने यस्तो हुन्न थियो।’

खड्काकाअनुसार पहिला सिनेमा हल किफायती थिए। अहिले फिल्म हल महंगा छन्। त्यसकारण युट्युब रिलिज पर्खिनु पर्ने अवस्थामा दर्शक पुगेको देखिन्छ।

‘फिल्म मेकरको भन्दा दर्शकको स्तर बढेको जस्तो मलाई लाग्छ। त्यही कारण धेरै फिल्म असफल हुने गरेका छन्। कोरियन फिल्मको कपी गरेको कुरा दर्शकलाई लुकाउन सकिँदैन। किनभने उनीहरूले मेकरसँगै त्यो फिल्म हेरिसकेको हुन्छ। हामीले हाम्रो फिल्मलाई ग्लोबलमा पुर्‍याउने हो भने हाम्रै लोकल कथालाई टिप्नु पर्छ’, खड्काले भनिन्।

खड्काको कुरामा सहमत भए शर्मा।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्