एसिसी प्रिमियर कपको आयोजनाको जिम्मा नेपाललाई, विजेता टोली एसिया कपमा छनोट हुने

काठमाडाैँ- नेपालले आगामी वैशाखमा एसिसी प्रिमियर कपको आयोजनाको जिम्मेवारी पाएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको हो। १० टोली सहभागी रहने प्रतियोगिताको विजेताले एसिया कपमा सहभागिता जनाउन पाउने छ।
नेपालले विश्वकप क्रिकेट लिग-२ को अन्तिम सिरिज आयोजना गरेको थियो। जुन सिरिजमा नेपाल र युएईबीचको दर्शकको अत्यधिक उपस्थितिका कारण नेपाललाई आयोजना जिम्मेवारी लिन सहज भएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।
‘पहिलाबाटै कुरा भइरहेको थियो। नेपालले आयोजना गर्ने कुराको तय भने भर्खरैमात्र भएको हो’, उनले भने।
१० राष्ट्र सहभागिता रहने प्रतियोगिता भएकाले एकै मैदानमा सबै खेल सम्भव नहुने भएकाले मूलपानी मैदान पनि प्रयोग गरिने पाठकले बताए।
‘आयोजकको नाताले ठूलो जिम्मेवारी प्राप्त भएको छ। हामीले यो पटक प्रतियोगिता दुईवटा मैदानमा गर्ने गरी तयारी गरिरहेका छौँ’,उनले भने।
प्रतियोगिता ११ देखि २५ वैशाखमा हुने छ। प्रतियोगिताको विजेता टिमले एसिया कपमा स्थान बनाउने छ। प्रतियोगिताका लगि समूह ‘ए’ मा नेपलासहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन्।
समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन्। प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुने छन्।
साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
एसिया कप पाकिस्तानमा हुने जनायएपनि भारतले पाकिस्तानमा गएर नखेल्ने बताएकाले प्रतियोगिता अन्योलमा रहेको छ।
एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ।