विवादले गिजोलिएको पीएनको स्ववियु निर्वाचन

आन्दोलनरत विद्यार्थी संगठनको आरोपः क्याम्पस प्रशासन र निर्वाचन समितिले चुनाव भाँडे

पोखरा – देशभरका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। कास्कीमा देशभरकै सबैभन्दा धेरै विद्यार्थी संख्या भएको पृथ्वीनारायण क्याम्पससहित ६ क्याम्पसमा स्ववियु निर्वाचनको तयारी भए पनि कतै निर्वाचन हुन सकेन।

स्ववियु निर्वाचनले उत्साह छाउँदा सबैभन्दा बढी मतदाता रहेको पोखराको पृथ्वीनारायण क्याम्पस भने विवादै विवादमा गिजोलियो। एकातिर तीन विद्यार्थी संगठनको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी छ, अर्कोतर्फ उच्च अदालत पोखराले अन्तिम आदेश नआउन्जेल चैत ८ गतेसम्म निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको छ। पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समितिले पनि राजीनामा दिएको छ।

पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा फागुन २५ गते अखिल (क्रान्तिकारी) ‘विप्लव’, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (क्रान्तिकारी)ले संयुक्त रूपमा कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट भएको भन्दै तालाबन्दी गरेका थिए।

क्याम्पस प्रशासनले करिब २ हजार ६ विद्यार्थीको विवरण अनाधिकृत रुपमा चुहाएपछि विरोधमा तालाबन्दीमा उत्रिएका विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच सहमति हुन नसक्दा ताला अझै खुलेको छैन। पछि नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) तालाबन्दीबाट पछाडि हट्यो।

तालाबन्दी गरेका तीन विद्यार्थी संगठनले क्याम्पस प्रशासनकै कारण स्ववियु निर्वाचन हुन नसकेको आरोप लगाएका छन्। आइतबार अखिल (क्रान्तिकारी) विप्लव, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) संयुक्तले पत्रकार सम्मेलन गर्दै वार्ताको माध्यमबाट सहमतीको प्रयास गर्न क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले नचाहेकै कारण स्ववियु निर्वाचन भाडिएको आरोप लगाए।

पृथ्वीनारायण क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले सहमति गर्न नचाहेकै कारण स्ववियु निर्वाचन भाँडिएको अखिल (क्रान्तिकारी) ‘विप्लव’ कास्कीका अध्यक्ष सचिन पौडेल बताउँछन्। उनले आफूहरु स्ववियु निर्वाचनको पक्षमा भएपनि क्याम्पस प्रशासनले वार्ता गर्न नचाहेको दाबी गरे। ‘निर्वाचन क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले नै भाँडेको हो। यसमा हामी तीन विद्यार्थी संगठनको हात छैन’, उनको दाबी छ।

उनले नेकपा माओवादी केन्द्र निकट आखिल (क्रान्तिकारी) ले आन्दोलनमा गद्दारी गरेको जिकिरसमेत गरे। ‘यो आन्दोलनलाई बेचेर खाए यिनीहरुले’, पौडेलको आरोप थियो। विद्यार्थीको विवरण चुहाएपछि स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी गर्नुपरेको उनको भनाइ छ।

पृथ्वीनारायण क्याम्पसमा कार्यालय सहयोगीदेखि क्याम्पस प्रमुखसम्म राजनीतिक भागबन्डामा नियुक्ति लिएकाले स्ववियु निर्वाचनको प्रक्रिया सुरु हुनुपूर्व नै विद्यार्थीको विवरण चुहाएर आफ्नो आस्था भएको पार्टीको विद्यार्थी संगठनलाई जिताउन सघाएको अखिल (क्रान्तिकारी) विप्लवका केन्द्रीय सचिवालय सदस्य प्रकाश बास्तोला बताउँछन्। उनका अनुसार विद्यार्थीको विवरण चुहाएपछि मतदाता प्रभावित पार्नसमेत खोजियो।

‘चुनावभन्दा १०/११ दिन अगाडि नै डाटा लिक गरियो। डाटा लिकविरुद्ध हामी बोलेका हौँ’, उनले भने, ‘डाटा लिक गरेर पर्वत, स्याङ्जा, म्याग्दी बेनी बजारसम्म जनप्रतिनिधिसहितले गाडी तयार पारेर हाम्रा भाइबहिनीलाई दिनमै ५/६ चोटी फोन हाने।’ विद्यार्थीको विवरण चुहाएर उनीहरुलाई मानसिक तनाव दिएको बास्तोला बताउँछन्।

पृथ्वीनारायण क्याम्पस राजनीतिक भर्तिकेन्द्र भएकाले स्ववियु निर्वाचनदेखि शैक्षिक सुधारसम्म निकै प्रभाव परेको अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको आरोप छ। कर्मचारीबाटै विवरण चुहावट भएको उनी बताउँछन्। विवरण चुहावट गरेर गम्भीर लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने उनको माग छ।

पृथ्वीनारायण क्याम्पसमा १० हजार ८७० विद्यार्थी अध्ययनरत छन्। पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनको परिणाम माउ पार्टीको प्रतिष्ठासँग जोडेर पनि हेर्ने गरिन्छ।

क्याम्पसमा स्ववियु निर्वाचनका लागि १२ विद्यार्थी संगठन दर्ता भएका थिए। फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखेर निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले जानकारी नदिइकन ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरेपछि विरोध जनाउँदै फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा रिट दायर भएको थियो। विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन्।

उच्च अदालतले चैत ८ गतेसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन कहिले हुन्छ भन्ने उच्च अदालतको अन्तिम आदेशपछि नै टुंगो लाग्ने छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्