तनहुँको शहिद कृष्ण क्याम्पसमा नेविसंघका अधिकारी सभापतिमा निर्वाचित

पोखरा – तनहुँको ढोरफिर्दीस्थित शहिद कृष्ण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएर मतपरिणाम पनि आइसकेको छ। यहाँ नेपाली कांग्रेसनिकट नेवि संघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को प्यानल निर्वाचित भएको छ।

स्ववियु सभापतिमा नेविसंघका विष्णुबहादुर अधिकारी निर्वाचित भए। कुल ४० मतदाता रहेको यो क्याम्पसमा ३७ मत खसेको थियो।अधिकारीको पक्षमा २७ मत खस्दा नेकपा एमाले निकट अनेरास्ववियुबाट अध्यक्षका उम्मेद्ववार बनेका मनोज बानियाँले १० मत प्राप्त गरे।

सचिवमा पनि संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेका नेविसंघका शालिग्राम पोखरेलले २७ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुका ओमबहादुर महतले १० मत ल्याउँदै विजयी भएका हुन्।

कोषाध्यक्षमा भने माओवादीनिकट अखिल (क्रान्तिकारी) की सुष्मा माकिम निर्विरोध निर्वाचित भइसकेकी थिइन्। सदस्यमा दिपिका काफ्ले (३१ मत), प्रमिला पौडेल (३१ मत), विना विक (३० मत), थमनबहादुर भुजेल (३० मत) विजयी भए।

तनहुँका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको छ। भिमादस्थित जनज्योति क्याम्पस र आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा मतदान जारी छ। बेलचौताराको भानुभक्त बहुमुखी क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा भने विद्यार्थी संगठनको विवादका कारण स्ववियु निर्वाचन हुन सकेन।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्