प्रतिनिधिसभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले जनजीविकाको विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा भइरहेको ढिलाइको विषय उठाएका छन् भने जनजीविकाको सन्दर्भमा विभिन्न विषयहरु पनि उठाएका छन्।
प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा भएको जनधनको क्षतिको हालसम्म राहत पाउन नसकेका बताए। उनले बाढी, पहिरोबाट क्षति भएका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे।
प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले सरकारले मलमा मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोध गरे। उनले मलको मूल्यवृद्धि गरेर सरकारले किसानमाथि ज्यादती गरिरहेको बताए। उनले सुकुम्वासीहरुले हालसम्म जग्गाधनी पुर्जा पाउन नसकेका भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा सदस्य माधव सापकोटाले वि.सं. २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितहरुलाई दिने भनिएको राहत रकम हालसम्म जिल्ला विपद व्यवस्थापन समितिको खातामै रहेको भन्दै सो रकम फुक्का गरी पीडितलाई नगदै वितरण गर्न माग गरे।
प्रतिनिधिसभा सदस्य मंगलप्रसाद गुप्ताले सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताए। सहकारीलाई नियमन गर्न नसकेमा सर्वसाधारणको अर्बौं रुपैयाँ डुब्ने उनले उल्लेख गरे।
प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको पाथिभरा क्याम्पसमा आज स्ववियु निर्वाचनको दिन अनेरास्ववियुका विद्यार्थीमाथि सांघातिक हमला भएको र स्ववियु निर्वाचनमा धाँधली भएको बताए। सत्ताको आडमा निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन हुन नसकेको बताए।
यस्तै, रघुजी पन्तले धुर्मुस–सुन्तलीले चितवनमा बनाउन शुरु गरेको क्रिकेट रंगशाला सरकारले बाँकी रकम तिरेर आफै बनाउनुपर्ने बताए। त्यस्तै, मुलपानीको रंगशाला पनि बनाउनुपर्ने उनले बताए।
प्रतिनिधिसभा सदस्य रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्लामा कमला नदीले जमिन कटान गरिरहेको भन्दै वैज्ञानिक किसिमले तटबन्धनका लागि बजेट छुट्याउन सरकारसँग माग गरिन्। त्यस्तै, जनता आवास कार्यक्रमलाई निरन्तरता दिन पनि उनले माग गरिन्।
प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले फागुन २२ गते सिरहाका भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नो माताको श्रद्धाञ्जली कार्यक्रममा शुद्ध भोज कार्यक्रममा जाति र धर्मको आधारमा छुवाछुतजन्य व्यवहार गरेको भन्दै गम्भीर सामाजिक अपराध मानि कारबाही गर्न सरकारसँग माग गरे।
सांसद रमा कोइराला पौड्यालले संविधानले योगदानमा आधारित सामाजिक सुरक्षालाई श्रमिकको मौलिक हकको रुपमा लिएको भन्दै सबै प्रतिष्ठानहरु सूचीकृत गरी मौलिक हकको कार्यान्वयन गर्न अनुरोध गरिन्।
राजकिशोर यादवले लाखौँ युवाहरु नागरिकताविहीन भएकाले सामान्य जीवनयापन गर्नसमेत नसकिरहेको बताए। उनले नागरिकतासम्बन्धी समस्या कहिले समाधान हुन्छ भनि प्रश्न गरे। त्यस्तै, सरकारले मलमा दिँदै आएको अनुदान कटौती भएकोप्रति पनि उनले विरोध जनाए।
यस्तै, सांसद रामहरी खतिवडाले देशमा क्रिकेट खेल मैदानको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे। त्यस्तै, किसानले मल समयमै पाउने र अनुदान पाउने व्यवस्था गर्न पनि सरकारसँग माग गरे। उनले सभामुखले पत्रकार बिक्रिमा छन् भन्ने अभिव्यक्ति दिएर प्रेस स्वतन्त्रतामाथि आघात परेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए।
यस्तै, सांसद रुपा सोसी चौधरीले कर्णाली नदी टिकापुर बस्तीमा छिर्ने सम्भावना भएकाले कर्णाली नदी नियन्त्रणमा ध्यान दिन सरकारलाई आग्रह गरिन्।
सांसद रोशन कार्कीले सहकारी र लघुवित्तको चर्को व्याजका कारण लाखौँ मानिसहरु सुकुम्वासी हुने अवस्था आएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
लिलानाथ श्रेष्ठले सरकारले मल र दुधको मूल्य वृद्धि गरेको भन्दै विरोध गरे। उनले सरकार जनताप्रति उत्तरदायि बन्न नसकेको बताए।