मलमा दिँदै आएको अनुदान कटौतिप्रति सांसदहरुको आक्रोश

काठमाडौँ – सांसदहरुले रासायनिक मलमा सरकारले दिँदै आएको अनुदान काटौति गरेकोमा विरोध जनाएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारले मलमा दिएको अनुदान काटेर किसानमाथि ज्यादति गरेको भन्दै आक्रोश पोखेका हुन्।
सरकराले युरियामा १६ प्रतिशतले अनुदान घटाएको छ। त्यस्तै डीएपी र पोटासमा ७ र १२ प्रतिशत अनुदान रकम घटाउँदा किसान मारमा परेका छन्। अनुदान कटौती लगत्तै बजारमा रासायनिक मलको मूल्य दोब्बर भएको छ।
१४ सयमा पाउनुपर्ने युरिया मल २६ सयसम्म तिरेर किन्न किसान बाध्य भएका छन्। आइतबार शून्य समयमा सरकारले किसानमाथि ज्यादति गरेको आरोप लगाए। उनले भने, ‘यो सरकार कस्को हो? कस्को लागि काम गरिरहेको छ। नेपालका किसानलाई एक बोरा मलसमेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड भाँचिनेगरी मलमा मूल्य वद्धि गरेको छ। मलमा दिँदै गरेको अनुदान कटौती गरेको छ। कहिलेसम्म सरकारबाटै किसानले यसप्रकारमा ज्यादतीपूर्ण अन्याय सहनु पर्ने हो?’
त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पनि मलमा गरिएको मूल्यवृति फिर्ता लिन माग गरे। उनले भने, ‘सरकारले मलमा गरेको मूल्यवृति तत्काल फिर्ता लिनुपर्छ।’
एमालेका सांसद लीलानाथ श्रेष्ठले पनि मलमा गरिएको वृद्धि किसानले थेग्नै नसक्ने अवस्थामा पुगेको गुनासो गरे।
‘कृषि प्रधान देशमा किसानलाई दिएको अनुदान कटौती भयो। किसानले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको छ मलमा दिएको ११ अर्ब अनुदान कटौती गरेको छ, उनले अगाडि भने, ‘यदि सरकार जनताप्रति उत्तरदायी छ भने दिनप्रति दिन मूल्य बढाउन निर्णय फिर्ता लियोस्। महंगीप्रति सरकारको ठोस ध्यान जाओस्।’
जसपाका सांसद राजकिशोर यादवले पनि मूल्यवृद्धिको विरोध गरे। उनले भने, ‘सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्नु गैरजिम्मेवार पूर्ण छ। यो फिर्ता हुनुपर्छ।’