माधव नेपालको दाबीः संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सबै पार्टीको सहमति छ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बीचमा सहमति भइसकेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको बताएका हुन्।
उनले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको दाबी गरे। उनले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उनको भनाइ छ।
उनले भने, ‘त्यस्तो मलाई लाग्दैन, असन्तुष्टि होला भनेर। किनभने सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ। विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भइसकेको छ। अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरुको पनि। मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको अवस्था छैन।’