स्ववियु निर्वाचनः दाङका ४ क्याम्पसमा मतदान सकियो, मतगणना सुरु गर्ने तयारी (तस्बिरसहित)

दाङ – दाङका चार वटा क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सकिएको छ। अब मतगणना सुरु गर्ने विषयमा विद्यार्थी संगठनबीच छलफल सुरु भएको छ।

देउखुरी बहुमुखी क्याम्पसमा एक हजार एक सय ३९ मतदातामध्ये सात सय ८६ मत खसेको छ। यहाँ नेपाल विद्यार्थी संघ, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एउटा गठबन्धन र अर्को अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु छैठौंको संयुक्त प्यानल छ।

आदर्श ऐरावती बहुमुखी क्याम्पस लालमटियामा छ सय ७४ मतदातामध्ये चार सय २० मत खसेको निर्वाचन अधिकृत आनन्द लामिछानेले जानकारी दिए। गढवा बहुमुखी क्याम्पसमा एक सय ७९ मतदातामध्ये एक सय १३ मत खसेको छ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ९७ मतमध्ये एक सय ८९ मत खसेको छ। जिल्लामा २५ भन्दा बढी क्याम्पस छन्। जसमध्ये चार वटामा क्याम्पसमा निर्वाचनमार्फत नेतृत्व चयन गर्न आइतबार मतदान भएको छ।

महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा चैत ८ गते निर्वाचनको तयारी छ। राप्ती बबई क्याम्पस, तुलसीपुर र नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय विद्यापीठ, जनता विद्यापीठ, विजौरीमा भने विद्यार्थी संगठनको आन्दोलनको कारण निर्वाचन पर धकेलिएको छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्