प्रचण्डले राजनीतिमा विचित्र लिला देखाए, अब जनताले विश्वास गर्दैनन्ः मोहन वैद्य

फाइल तस्बिर।

काठमाडौँ – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन्।

राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लागेको, फेरि ओलीको शरणमा परेर सरकार बनाएको तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनताको विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए।

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘चुनावमा जाने बेलामा गठबन्धन बनाए। प्रतिगमनका विरुद्ध जाने हो, संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए। अब सरकार बनाउने बेलामा त छैन।

सरकार बनाउने बेलामा त जसकाविरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने, ल हेर्नुस अब ! यहाँभन्दा विचित्र के हुन्छ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि, एमालेसँग बसेर। त्यो पनि टिकाउन नसकेर फेरि फर्केर काँग्रेसतिर,’ उनले भने, ‘राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो? राजनीतिमा लिला भइसक्यो भन्नुस्। यस्तो चालले अब चल्नेवाला छैन। जनताले विश्वास पनि अब गर्नेवाला छैनन्।’

महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको दाबी गरे।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्