घोडामा गाँजा तस्करी !

जनकपुरधाम – सप्तरी प्रहरीले १८४ केजी गाँजा बरामद गरेको छ। घोडामा गाँजा लोड गरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिबार प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले राति ११ बजे हनुमाननगर कंकालिनी–१३ गोवरगाडा छतौनीबाट १८४ केजी गाँजा बरामद गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
प्रहरी टोलीलाई देखेपछि घोडासहित गाँजा छोडेर तस्करको टोली फरार भएको थियो। घोडा र गाँजालाई प्रहरी कार्यालयतर्फ ल्याउन खोज्दा अज्ञात समूहले गाँजा खोस्न खोजेको थियो। त्यसक्रममा प्रहरीले हवाई फायर गरेको सिंहले बताए।
हवाई फायर गरेपछि अज्ञात समूह भागेको प्रवक्ता सिंहले बताए। गाँजा तस्करीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।