बाल यौन दुरुपयोग अभियोगमा एक किशोर पक्राउ

सांकेतिक तस्बिर

पोखरा – कास्की प्रहरीले बाल यौन दुरुपयोग अभियोगमा एक किशोरलाई पक्राउ गरेको छ। प्रहरीले आइतबार १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

१४ वर्षीया एक बालिकाले आफूलाई मामाको छोराले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेकी थिइन्। बिरामी भएर मामाघर गएको बेला बालिकाले आफूमाथि बाल यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको घटनामा कास्की प्रहरीले चासो देखाएर पीडित र उनका अभिभावकसँग सम्पर्क गरेको थियो।

‘घटना सामाजिक सञ्जालमा आइसकेपछि हामिले फलो गर्‍यौँ। परिवारले जाहेरी दिएपछि पक्रिया अगाडि बढ्यो’, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले भने।

प्रहरीले सम्पर्क गरेपछि पीडित पक्षले आइतबार बाल यौन दुरुपयोग अभियोगमा जाहेरी दिएपश्चात किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। नियन्त्रणमा लिएका किशोरलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत कास्कीबाट चार दिनको म्याद थप गरेर अनुसन्धान थालेको उनले जानकारी दिए।

बालिकाले सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेसँगै न्यायको लागि आवाज उठिरहेको छ। बिरामी आफूलाई यौन दुर्व्यवहार भएपछि आत्महत्याको प्रयाससमेत गरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। बालकको परिवारले ज्यान मार्नेसमेतको धम्की दिएको ती बालिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्