पेस्तोलसहित सप्तरीबाट दुई युवा पक्राउ

जनकपुरधाम – सप्तरीमा अमेरिकन र चाइनिज पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
आइतबार दिउँसो करिब १ बजे सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाडोखोलास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ पर्नेमा छिनमस्ता गाउँपालिका–२ महुवा बस्ने २८ वर्षीय सोनु राय रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। ती युवकलाई सोधपुछ गर्दा अर्का युवक राजविराज नगरपालिका–१ डुमरी बस्ने २८ वर्षीय रोशन यादवसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले रायलाई चेकजाँच गर्दा कम्मरमा इलास्टिकले बाँधेर राखेको अवस्थामा मेड इन युएसए र अर्कोपट्टी चाइना लेखेको अटोमेटिक म्यागजिनसहितको पेस्तोल १ थान बरामद गरेको हो।
रायलाई प्रारम्भिक सोधपुछ गर्दा सप्तरीकै राजविराज नगरपालिका–१ डुमरी बस्ने २८ वर्षीय रोशन यादवले उक्त पेस्तोल दिएको भनि खुलाएको हुँदा उनलाई पनि पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।