स्ववियु निर्वाचनः नर्सिङ कलेज, डिग्री कलेज र लेटाङ क्याम्पसमा अनेरास्ववियुको जित

मोरङ – विराटनगर नर्सिङ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुकी प्रशंसा पौडेल १९ मतान्तरले अध्यक्ष पदमा विजयी भएकी छन्।

क्याम्पसमा आइतबार भएको निर्वाचनमा पौडेलले ९७ मत हासिल गर्दा नेविसंघकी स्मारिका बराल ७८ मतमा सीमित भएकी छन्। निर्वाचन समितिका अनुसार क्याम्पसमा अनेरास्ववियुले सचिवबाहेक सबैमा जित हात पारेको छ। नेविसंघकी अध्यक्ष उम्मेदवार बराल १९ मतले पराजित हुँदा २ मत बदर भएको छ।

यद्यपि, नेविसंघकी एलिसा राउत १ सय ६ मतसहित निर्वाचित भएकी छन्। सचिवमा अनेरास्ववियुकी उम्मेदवार मनीषा श्रेष्ठले ६८ मत पाएकी छन्। कोषाध्यक्षतर्फ अनेरास्ववियुकी रुचिका ओझाले ९६ मत हासिल गर्दा नेविसंघकी स्वस्तिका न्यौपानले ७६ मत पाएको समितिले जनाएको छ।

त्यसैगरी, ३ वटा प्रत्यक्षतर्फ अनेरास्ववियुका उम्मेदवार स्मृति ज्ञवाली, मेलिना राई र योगिना कटवाल विजयी भएका छन्। १ सय ८६ मतदाता रहेको क्याम्पसमा १ सय ८० जनाले मतदानमा सहभागिता जनाएका थिए। यसअघिको स्ववियु निर्वाचनमा क्याम्पसमा नेविसंघले जित हात पारेको थियो।

त्यसैगरी, विराटनगरको स्नात्तकोत्तर क्याम्पसमा अनेरास्ववियुतर्फ अध्यक्ष निर्मल गजुरेलसहित प्यानल नै विजयी भएको छ।

गजुरेलले १ सय २३ मत प्राप्त गर्दा संयुक्त लोकतान्त्रिक गठबन्धनतर्फ शशी यादव १ सय १८ मा थिए। मोरङको लेटाङ नगरपालिकास्थित लेटाङ क्याम्पसमा अनेरास्ववियु अध्यक्ष छवि श्रेष्ठ १ स ५३ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पधी नेविसंघका लेखनाथ दाहालले १ सय १७ मत पाएका छन्। त्यसैगरी सचिवमा अनेरास्ववियुका पुजेस अधिकारी र कोषाध्यक्षमा सागर पौडेल विजयी भएका छन्।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्