उपाधि होडमा रहेको आर्सनलले बनायो शीर्ष स्थानमा ८ अङ्कको अग्रता

इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा निरन्तर अघि बढेको आर्सनलले शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ। आइतबार राति घरेलु मैदानमा क्रिश्टल प्यालेसलाई ४-१ ले पराजित गर्दै उसले उपाधि होडमा फराकिलो अग्रता कायम राखेको छ।
आर्सनलको सहज जितमा बुकायो साकाले दुई गोल गर्दा गाब्रियल मार्टिनेली र ग्रानीट जाकाले समान १-१ गोल गरे। क्रिश्टल प्यालेसले १ गोल फर्काएको थियो। सुरुवताबाटै दबाबमा राखेको आर्सनलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा २ गोल गरेको थियो।
२८ औ मिनेटमा साकाको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई घरेलु मैदानमा सुरुवाती अग्रता दिलाएका थिए। ४३ औ मिनेटमा साकाले अग्रता दोब्बर पार्दा पहिलो हाफमा आर्सनल २-० ले अघि रह्यो। दोस्रो हाफमा पनि उत्कृष्ट लयमा रहेको आर्सनलका लागि ५५ औ मिनेटमा स्विस खेलाडी जाकाले गोल गर्दै टिमलाई ३-० को अवस्थामा पुर्याए। तर ६३ औ मिनेटमा जेफ्री स्लपले गोल गर्दै क्रिश्टल प्यालेसलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर खेलमा दबाब बढाउने क्रममा साकाले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गर्दै आर्सनकलो जित निश्चित गरे।
जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ। उसले २८ खेलबाट ६९ अङ्क बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अङ्क रहेको छ।