राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन्।

सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो।

जनस्तरको सम्बन्धलाई अझ बढी सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरूबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

भेटपछि उनले द्विपक्षीय सम्बन्धमा विविध विषयमा पनि उनीसँग कुरा भएको बताए।

त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरेका थिए।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरूमा नेपालको हवाईसेवा सञ्चालनका लागि पहल गरिदिन पनि सांसद शर्माको ध्यानाकर्षण गराएका थिए।

सांसद शर्मा नेतृत्वको टोलीले यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो।

 

 

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्