संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीले दिए निर्देशन

एमाले संसदीय दलकाे बैठक।

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरूलाई निर्देशन दिएका छन्।

सोमबार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्।

उनले प्रस्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ। एक तालमा बोलौँ। हामीले आफ्नो संसदीय दलको मर्यादा राख्नुपर्छ। हामीले संसदको मर्यादा पालना गर्नुपर्छ। संसदमा अब विभिन्न विधेयकहरू आइरहेका छन्। हामी विधेयक त्रुटिरहित बनाउन चाहन्छौँ। देशका पक्षमा बनाउन चाहन्छौँ। जनताको पक्षमा बनाउन चाहन्छौँ। त्यसकारण हामीले संशोधन पनि हाल्छौँ। संशोधन हालेर, छलफल गरेर अघि बढ्छौँ। हामी टिआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौँ।’

उनले सांसदहरूले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुनसमेत आग्रह गरे।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्