नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण

उन्मूलन भइसकेको छैन कोरोना

विश्वमा कोरोना संक्रमण निकै कम भइसकेको छ र यसको असरबाट सिङ्गै विश्व क्रमैसँग तंग्रिन खोजिरहेको छ। तर पनि यसको अवशेष अझै पनि बाँकी नै रहेको छ। विश्वका कतिपय देशहरुमा कोरोना संक्रमणबाट बिरामीको मृत्यु हुने क्रम अझै पनि जारी नै रहेको छ। यसको संक्रमण र मृत्युको प्रवृत्ति पनि उतारचढाव हुने क्रम अझै पनि बाँकी नै रहेको छ।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी रहेकोमा विगत केही हप्तादेखि यस क्षेत्रको कुल कोरोना संक्रमण संख्यामा सामान्य वृद्धि हुँदै गएको प्रवृत्ति देखिएको छ। दक्षिण एसियाको पछिल्लो करिब एक महिना, फेब्रुअरी १३ देखि मार्च १५ (३१ दिन), को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।

पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण संख्या निकै कम भएता पनि चित्रमा देखाइएजस्तै पछिल्लो एक महिनामा दक्षिण एसियाको समग्र कोरोना संक्रमणको प्रवृत्ति बढ्दै गएको देखिन्छ र पछिल्लो अवास्थामा दैनिक औसत संक्रमण संख्या करिब ४५० पुगेको छ, जुन दुई र तीन हप्ताअघि क्रमशः ३०० र १८० थियो।  

त्यस्तै, पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रवृत्ति पनि केही बढ्न खोजेजस्तो देखिए पनि संख्या भने नगन्य देखिन्छ। 

नेपालको दैनिक नयाँ संक्रमण


सन् २०२३ मार्च १२ देखि १८ (वि.सं २०७९ फागुन २८ देखि चैत्र ४) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, चैत्र ४ गते शनिबारसम्म, देशभरि जम्मा १९  जना नयाँ संक्रमित थपिइ जम्मा संक्रमितको संख्या १० लाख ०१ हजार १८० पुगेको छ। गतहप्ताभन्दा अघिका साप्ताहिक संक्रमण संख्या क्रमशः १२, ९ र ७ थिए। यसरी नेपालमा विगत चार हप्तामा साप्ताहिक संक्रमण संख्या ७ बाट ९ र १२ हुँदै गतहप्ता १९ पुगेको छ।

त्यस्तै, चित्र नं. २ ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रवृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमणदर अर्थात् पोजिटिभिटीदर न्यूनतम ०% देखि अधिकतम २५% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ५.३१% रह्यो, जुन गतहप्ताभन्दा अघिका तीन हप्तामा क्रमसः १.६%, ०.४२% र ०.५८% थियो।  यसरी नेपालमा विगत चार हप्तामा साप्ताहिक औसत पोजिटिभिटीदर ०.५८% बाट ०.४२% र १.६% हुँदै गतहप्ता ५.३१% पुगेको छ। गतहप्ताको शनिबार, चैत्र ४ गते, देशभरि जम्मा ८ वटा पीसीआर परीक्षण गरिएकोमा २ वटा (२५%) पोजिटिभ अर्थात् दुई जनामा संक्रमण देखिएको थियो।

स्मरण रहोस् WHO का अनुसार दैनिक संक्रमण दर ५% या सोभन्दा माथि भएमा संक्रमण समुदायमा फैलिएको मानिन्छ।

गतहप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२ हजार २० पुगेको छ। गतहप्ता देशभरि जम्मा ७५० पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ७१८ थियो। 

संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण समग्रमा कम हुँदै गएको छ। यद्यपि, हाल पनि कोरोना संक्रमणको अवशेष विश्वका केही देशहरुमा बाँकी नै रहेको छ।

दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमण संख्या पनि निकै न्यून रहेको छ तर विगत केही हप्ताको प्रवृत्ति हेर्ने हो भने दक्षिण एसियाको समग्र दैनिक संक्रमणमा केही सामान्य वृद्धि हुँदै गएको छ। दक्षिण एसियामा हाल कोरोना संक्रमण संख्या बढ्नुमा मुख्यतयाः भारत र पाकिस्तानको देन ठूलो देखिन्छ।

नेपालमा पनि गतहप्ता, वि.सं २०७९ फागुन २८ देखि चैत्र ४, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या विगत एक महिना अघिकोभन्दा बढेको छ। नेपालमा विगत एक महिनादेखि साप्ताहिक संक्रमण संख्या र साप्ताहिक संक्रमण दर दुवै बढ्दै गएको प्रवृत्तिको देखिएको छ।  आशा गरौँ पछिल्लो समय दक्षिण एसिया र नेपालमा कोरोना संक्रमणमा देखिएको सामान्य वृद्धि चाँडै पुनः नियन्त्रित हुनेछ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वव्यापी र देशव्यापी निकै कमी आइसकेकता पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन, जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ, कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेखमा नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ, त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्