एमाले राष्ट्रिय सहमतिबाट भाग्योः देवेन्द्र पौडेल

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्। जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उनको जिकिर थियो।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतअनुसार राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले किन भागेको भनि प्रश्नसमेत गरे।
सांसद पौडेलले सहमतिको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई सँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वभाविक भए पनि एमालेले त्यसलाई लत्याएको बताए।
उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाए। त्यस अवसरमा उनले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोड्ने अवस्था आएको पनि दोहोर्याए।